काठमाडौं । भारतको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी फेरि १०० अर्ब डलर क्लबमा प्रवेश गरेका छन्।
रिलायन्स इन्डस्ट्रिजको शेयरभाउ लगातार तेस्रो दिन बढेको छ। पछिल्लो ३ दिनमा कम्पनीको शेयरभाउ ८ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। योसँगै अम्बानीको कुल सम्पत्ति बढेर १०० अर्ब डलर नाघेको हो।
फोर्ब्सको रियल टाइम बिलिनियर्स इन्डेक्सका अनुसार अम्बानीको कुल सम्पत्ति १०६.१ अर्ब डलर पुगेको छ। रिलायन्स इन्डस्ट्रिजको शेयरभाउ यो वर्ष करिब १५ प्रतिशतले बढिसकेको छ। योसँगै कम्पनीको बजार पुँजीकरण भारु १९ लाख करोड पुगेको छ।
अम्बानी भारतका साथै एसियाकै धनीव्यक्ति हुन्। उनीपछि शीर्ष भारतीय धनाढ्यमा गौतम अडानीको नाम रहेको छ। अडानीको कुल सम्पत्ति ६१.८ अर्ब डलर रहेको छ। –एजेन्सी

















