काठमाडौं । चीनमा एक युवक मुटुको चाल ४० घन्टासम्म बन्द भएपछि पनि चमत्कारिक रुपमा बाँचेका छन्। यो घटनाले जीवन बचाउने नवीनतम चिकित्सा प्रविधिहरुका बारेमा अनलाइन बहस सुरु गरेको छ।
झेजियाङ विश्वविद्यालय मेडिकल स्कुलको दोस्रो सम्बद्ध अस्पतालका आपतकालीन डाक्टर लु सियाओले आफ्नो सामाजिक सञ्जाल खातामा यो पोस्ट गरेपछि यो घटना प्रकाशमा आएको हो। जसका ३ लाख फलोअर छन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार लुले ४० वर्षीय एक पुरुषलाई हृदयघात भएको बताए। धेरै विद्युतीय डिफिब्रिलेसनको बाबजुद पनि उनको मुटु चाल फर्काउन असफल भयो। डाक्टरहरुको टोलीले ती व्यक्तिमा एक्स्ट्राकोर्पोरियल मेम्ब्रेन अक्सिजनेसन (ईसीएमओ) गरे। जसले गर्दा उनको मुटु चाल लगभग दुई दिनदेखि बन्द भए पनि जीवन बच्यो।
ईसीएमओ एउटा जीवन बचाउने मेसिन हो। जसले कृत्रिम मुटु र फोक्सो जस्तै काम गर्छ। यसले रगतमा अक्सिजन थप्छ र अंगहरुले काम गर्न छोडेका मानिसको रगतबाट कार्बन डाइअक्साइड हटाउँछ।
यो मेसिन प्रायः हृदयघातका बिरामी र मुटु तथा फोक्सो प्रत्यारोपण गराइरहेकाहरुलाई अस्थायी सहयोग प्रदान गर्न प्रयोग गरिन्छ। अघिल्ला रिपोर्टहरुले देखाएका छन् कि मेसिनले हृदयघात भएको केही घन्टापछि मानिसहरुलाई बचाएको छ।
गत वर्ष चीनको हुबेई प्रान्तमा एक ५३ वर्षीया महिलाको मुटु चाल बन्द भएको पाँच घन्टापछि पुनर्जीवित गरिएको थियो। सन् २०२२ मा पूर्वी चीनको जियाङ्सु प्रान्तको यान्चेङ नम्बर १ पिपुल्स अस्पतालले घोषणा गर्यो कि यसले ३६ वर्षीया महिलालाई पुनर्जीवित गर्न ईसीएमओ मेसिन प्रयोग गरेको छ। जसको मुटु चाल ९६ घन्टादेखि बन्द थियो।
अस्पतालका अनुसार मेसिनले परम्परागत सीपीआरबाट प्राप्त गरिएको १ प्रतिशतबाट हृदयघात भएका बिरामीको बाँच्ने दरलाई ५० प्रतिशतमा बढाउन सक्छ। यद्यपि, लामो समयसम्म ईसीएमओ उपचारले पनि जोखिम बोक्छ। ती ४० वर्षीय युवकाको हकमा डा लुले रगत जम्नबाट रोक्नका लागि रगत पम्पिङ बढाउनुपर्ने बताए। जुन घातक हुन सक्छ।
यसका साथै चिकित्सा टोलीले रगत जम्ने र रक्तस्रावबीच सन्तुलन कायम राख्नु आवश्यक थियो। जुन ईसीएमओको एक सामान्य र खतरनाक जटिलता हो। यसको अर्थ निरन्तर निगरानी आवश्यक छ र चिकित्सा कर्मचारीहरुसँग उत्कृष्ट व्यावसायिक सीप हुनुपर्छ।
जब ती व्यक्तिको मुटुको धड्कन सामान्य अवस्थामा फर्कियो तब उनी लगभग १० दिनसम्म ईसीएमओ उपचारमा बाँचे। लुले भने, ‘२० दिनपछि उनी लगभग निको भए तर अस्पतालबाट डिस्चार्ज भए। कुनै साइड इफेक्ट भोगेनन्। यद्यपि, साइड इफेक्टहरुमा स्ट्रोक, मिर्गौला फेल र चिन्ता तथा डिप्रेसनजस्ता मानसिक स्वास्थ्य समस्याहरु समावेश हुन सक्छन्।
लुले घटनालाई चमत्कारको संज्ञा दिएका छन्। उनले भने, ‘बिरामी भाग्यमानी थिए। प्रत्येक सफल उपचार चिकित्सा प्रगति, डाक्टर र नर्सहरुको समर्पण र भाग्यको परिणाम हो।’
चीनमा मेसिन सुरु गर्न लगभग ५० हजार युआन (७ हजार अमेरिकी डलर) र त्यसपछि प्रतिदिन १० हजार युआन न्दा बढी खर्च लाग्छ। यो मेसिनबाट गरिने उपचार सामान्यतया चिकित्सा बीमाले कभर गर्दैन। –एजेन्सी












