- सन्तोष आचार्य
बेलुका कार्यालय सकिएर घर फर्किंदै गर्दा बाटोमा एकजना स्कुल पढ्दाको साथी अचानक भेट भयो र धेरै समयपछि भेट भएकाले गफ गरौँन भनेर नजिकै को एउटा कफी सपमा छिरियो। कफी आउन केही समय लागेकाले वेटर भाइसँग साथीले वाईफाई पासवोर्ड माग्यो र एक सेल्फी खिचेर फेसबुकमा पोस्ट्यायो। त्यतिकैमा एकजनाको स्टोरी क्लिक भयो। टिकटक रहेछ ‘इन्स्योरेन्समा काम गर्ने मान्छेसँग भेट भयो भने जीउनुभन्दा पनि मर्नु बेस बनाइदिन्छन्’ भन्ने अभिनय गरिरहेको पाए।
आफू पनि बीमा क्षेत्रमा काम गर्ने व्यक्ति भएकाले मुसुक्क हासे। त्यतिकैमा उसले थप्दै भन्यो, ‘हो यार ! बीमामा काम गर्नेसँग भेट्यो भने वाक्क लगाउँछन्, बीमा गर कि गर भनेर। अनि यस्तो बुझाउँछन कि बाँच्नुभन्दा मर्नु बेस बनाइदिन्छन्। तर, मरेपछि सबै राजा। केको बीमा नि सीमा !’
उसले अर्को प्रश्न तेर्स्यायो, ‘साँच्ची यार ! त के मा पो काम गर्छस् ?’
अब म अकमक्क परेँ। फेरि मलाई पनि साथीले टिकटककै पात्र बुझ्ने हो कि भनेर टक्क रोकिएर उसको उत्तर त्यतिखेर नै फर्काइनँ। बरु ऊजस्तो शिक्षित वर्गले बीमाप्रतिको नकारात्मक भाव कसरी आत्मसात गरेछ, पहिला त्यो जान्ने इच्छा जाग्यो। उसलाई मैले प्रश्न गरेँ, ‘साथी ! तिमीले बीमा गरेका छौ ?’
उसले भन्यो, ‘अँ गरेको छु नि। २ लाख बीमांकको। एउटा छिमेकी दाइले बीमामा बारे जहिले पनि गर्नु (गर्नु भनेर किच्किच गर्नुभयो। मैँले उहाँकै लागि भए पनि २ लाखको गरिदिएँ। त्यस्तै मोटामोटी १३ हजारजति वार्षिक बीमाबापतको प्रिमियम तिर्छु।’
अनि त्यो बीमाबाट के–के सुविधा पाइन्छ नि भनेर पुनः मैले सोधेँ। उसले भन्यो, ‘खोइ के–के भन्दै हुनुहुन्थ्यो वास्ता गरिनँ। मेरा लागि किन चाहियो। त्यो दाइको कुरा नाई भन्न नसकेर पो गरेको हो। मलाई त केही थाहा छैन।’
फेरि मैले उसलाई ‘तिमी के गर्छौ ?’ भनेर सोधेँ। ऊ एउटा कन्सट्रक्सन कम्पनीमा साथीहरु मिलेर व्यवसाय चलाएको रहेछ। बैंकमा ऋण व्यक्तिगत ४ करोड रहेछ।
दिनरात देशका विभिन्न भागमा ठेक्कापट्टाको कामले हिँडिराख्दो रहेछ। मासिक लगभग ४ लाख जति कमाइ पनि हुँदो रहेछ। मैले उसलाई भने, ‘तिम्रो जीवनको मूल्य केवल २ लाख पो ? तिमीलाई तलमाथि केही परेमा जम्मा तिम्रो परिवारले दुर्घटना जोखिम सुविधाअनुसार ४ लाखसम्म पाउँदो रहेछ। अनि बैकमा ऋण धरौटीमा घरजग्गा सबै राखेर लिएका छौ। भोलि केही भएमा ४ लाखले बैंकको ऋण भार तिर्न पुग्छ त ? पूरा परिवार त सडकमा आउँछ त। विचार गर त ?
मैले भनेपछि मुख मनिलो बनाउँदै मलाई के हुन्छ र भन्दै स्वर अलिक ठूलो बनायो। हुन त को चाहिँ बिहान घरबाट निस्किँदा आज दुर्घटनामा परिन्छ होला र ? आज दुर्घटनामा परे भने तलमाथि हुन सक्छ भनेर को निस्किन्छ होला र ? त्यत्तिकैमा २ दिनअघि युट्युबमा भेटेको रोजक जानकारीले पुनर्ताजकी अभिवृद्धि गरायो। संसारमा वार्षिक लगभग १४ लाख मानिस दुर्घटनाका कारण मृत्यु हुँदो रहेछ। अनि नेपालमा हरेक दिन लगभग १० जना मानिस दुर्घटनाबाट मृत्यु हुँदो रहेछ। अनि, मृत्युको कारण हेर्ने हो भने लगभग ४ नम्बरमा चाहिँ सडक दुर्घटना रहेछ। त्यस्तै, सडक दुर्घटनाबाट पूर्णअशक्त भएर जीवन जीउनेको संख्या पनि उलेख्य रहेछ।
तर, मुख्य चुरो कुरो चाहिँ यसरी दुर्घटनामा परी पूर्णअशक्त भएमा मासिक भत्ता १० वर्षसम्म बीमा कम्पनीले दिने गरेका छन् र बीमितको बीमाशुल्क बाँकी अवधिमा निःशुल्क गरिदिन्छन् भन्ने यसका सुविधाहरुले दुर्घटनाबाट हुनेबित्तिकै क्षतिपूर्तिको न्यूनीकरणलाई सहयोग पुर्याउन सकिन्छ नि भन्ने जानकारी पनि दिइयो। गफैगफमा कफी आइपुग्यो। महौल अलिक भावुकतामा चलिरहेको थियो।
बीमा मरेपछि मात्र होइन साथी हिजोआज क्यान्सर, ओपन हट सर्जरी, हृदयघातजस्ता मानिसमा देखेने धेरै घातक रोगहरु लागेमा उपचार खर्च बीमाले दिन्छ भनेर सम्झाए। जुन आज उपचार गर्न लाखौँ खर्च लाग्छ।
त्यस्तै दुर्घटनाबाट मृत्यु नभई पूर्णअसक्त भएमा असक्त भत्ता सुविधा भनेर बीमा कम्पनीहरुले दिने गरेका छन्। त्यतिमात्र कहाँ हो नि ! कुनै–कुनै कम्पनीले त व्यक्तिगत दुर्घटना भएमा त्यसबापतको हस्पिटल खर्च सुविधा पनि दिन्छन् नि। अचम्म पर्दै उसले मतिर फर्किएर भन्यो, ‘यति धेरै सुविधा हुँदा रहेछन्, मलाइ त केवल बीमा गर्दा डबल आउँछ अनि मरेपछि बीमाले पैला दिन्छ भन्ने कुरा पो बुझेको थिएँ।’
मैले साथीलाई त्यतिबेला नै रोकेँ, ‘हेर साथी ! यदि कसैले बीमा गर्दा डबल, तेब्बर आउँछ भनेर भन्छ भने सबै गफ हो। त्यो बीमाप्रतिको मिससेलिङ हो। त्यस्तो अभिकर्ता पेसागत होइन, तिनीहरुबाट टाढा रहनुपर्छ। बीमाको प्रतिफल मुख्य रुपमा यसको बोनस यसको बोनस दर र बीमा अवधिले निर्धारण गर्दछ। तसर्थ, कम्पनीको बोनस यसको नाफासँग जोडिएको हुन्छ। विगतका कामका आधारमा नाफा–नोक्सान भन्न सकिन्छ तर भविष्यबारे भन्न सकिन्न। तसर्थ, कसैले ठोकुवा भन्छ भने चाहिँ त्यो मानिस ज्योतिषी हो कि भगवान।’
यति भन्दा साथी ठीक हो भन्दै मुस्कुरायो ! किनकि आज हामीले हाम्रो १ कठ्ठा जमिनमा १०० मन धान फलायौँ भने अर्को वर्ष १०० मन नै फल्छ भन्ने ग्यारेन्टी हुँदैन। १०० मनभन्दा कम वा बेसी हुन सक्छ। तसर्थ, बीमाको बोनसदर पनि कम्पनीले आर्जन गर्ने प्रत्येक वर्षको नाफा–नोक्सानको फरकले भिन्न हुन सक्छ। तर, नेपाल बीमा प्राधिकरणबाट स्वीकृत लिई निश्चित बोनसदर दिने र कम्पनीको अन्य नाफा–नोक्सानीमा सहभागिता नजनाउने प्रोडक्ट केही कम्पनीले सार्वजनिक गरेका पनि छन्।
साथी ! बीमाप्रतिको ध्यानाकर्षण रहेकाले अझै मैले थपेँ, ‘बीमाबाट मैले यति तिरेँ। यति–उति पाउनेवाला छु वा पाउँछु भन्नुभन्दा पनि भविष्य अनिश्चित छ। अनिश्चिततामा रहेको जोखिमलाई निश्चिततामा बदली वित्तीय जोखिम हस्तान्तरण गर्ने एउटा उपयुक्त उपकरण भनेर बुझ्दा प्रभावकारी होला। घरमा आम्दानी वा आयआर्जन गर्ने व्यक्तिलाई तलमाथि परे ऊसँग आश्रित परिवारको सम्वृद्धि परिकल्पना, वृद्धावस्थामा पुग्दा आजको बचतले भविष्यको पेन्सन अनि आवश्यकता परे ३ वर्षपछि बिना झन्झट र बिना अतिरिक्त शुल्क नतिरी न्यून ब्याजदरमा तुरुन्त पाइने ऋण सुविधाजस्ता धेरै सुविधाको समिश्रण भनेर नि बुझ्न सकिन्छ। यस्ता बीमाका कैयौँ घतलाग्दो र जीवन उपयोगी विशेषताहरु छन्।’
साथीले एक्कासि भन्यो, ‘यति धेरै सुविधा रहेछन्। मेरा लागि त बीमा धेरै जरुरी रहेछ। मैले बीमा त मेरो जीवनको मूल्यअनुसार गरेको पो रहेनछु। अनि, केही हुनैपर्छ भन्ने रहेनछ नि।’ यो एउटा अनुशासन रुपी बचत पो रहेछ भनेर उसले बीमाको मुख्य मर्मस्पर्शी बाक्य भन्यो।
मैले त्यसमा फेरि थपेँ, ‘साथी मरेपछि पनि हाम्रो संस्कारमा पितृ कार्य गर्न धन–सम्पत्ति चाहिन्छ नि। आफ्नो परिवारको लालपोषणको जिम्मेवारी चाहिन्छ नि।’ त्यतिकैमा उसले निधारमा लगाएको पहेँलो टीका हेरेर मुस्कुराउँदै भन्यो, ‘साथी ! सोह्रश्राद्ध चाहिँ मरेपछि नै गर्छन् है। मरेपछि पनि पुण्यको काम बाँकी हुन्छन्। तसर्थ, मरेपछि सबैजना राजा चाहिँ भनी हाल्नुहुँदैन रहेछ !’
अब ऊ बीमा गराउने सोचमा लाग्यो। अनि मैले आफ्नो पेसागत परिचय दिएँ, ‘म पनि जीवन बीमा कम्पनीमै काम गर्छु।’ साथीले हास्दै भन्यो, ‘अघि नै किन नभनेको ?’
मैले भनेँ, ‘यतिबेलासम्म तलाइँ बीमाबारे चेतना जगाउन। यी र यस्ता घटना हाम्रो समाजमा घटेका पाइन्छ। बीमाबारे नकारात्मक प्रचार र भ्रमले समग्र बीमा क्षेत्रमा वितृष्णा जगाइदिन्छ। तसर्थ, बीमाबारे दोब्बर, तेब्बरजस्ता शब्दभन्दा वित्तीय व्यवस्थापनको उपयुक्त उपकरण अनि वित्तीय जोखिमको हस्तान्तरणभन्दा उपयुक्त होला। बीमाबारे सत्य र यथार्थ जानकारी बीमा गर्ने बेलामै नगराइँदा र बीमित स्वयंको पनि सजकताको लापरबाहीले बीमाबाट प्राप्त हुने सुविधा उपभोग गर्दा दुवैको बुझ्ने र बुझाउने अनविज्ञताले यसले बीमाप्रतिको छवि केही चाहिँ धमिलो बनाएको चाहिँ पक्कै बनाएको थियो। तर, हिजोआज सम्पूर्ण बीमा कम्पनी र जनचेतनामूलक कार्यक्रम पनि डिजिटलाइजेसनमा गइसकेकाले यसको चेतना दिनानुदिन अभिवृद्धि हुँदै गएको छ। तसर्थ, बीमा साथीले गर भन्दैमा गर्ने र नगर्ने भन्दैमा पनि नगर्नेजस्तो करकापमा भन्दा प्राप्त हुने सुविधाहरुबारे बुझेर गर्नु उपयुक्त हुन्छ।’
अझै पनि बीमा गर्ने ग्राहक आफूले गरेको बीमा प्रोडक्ट के हो ? के–के सुविधा उपभोग गर्न सकिन्छ ? त्यसबारे अनविज्ञता संख्या पनि धेरै छन् कि भन्ने लाग्दछ। यसका लागि आफूले गरेका बीमा प्रोडक्टबारे प्रस्ट नभए बीमा कम्पनी जानेको संख्या नेपालमा धेरै कम छ भन्दा फरक नपर्ला।
अन्तः बीमा एउटा वित्तीय व्यवस्थापनको सबैभन्दा राम्रो उपयुक्त उपकरण भएको हुनाले वास्तवमा बीमा एउटा अनिवार्य आवश्यकताबाहेक अरु केही हुन सक्दैन भन्ने बुझिन्छ। त्यही भएर ‘एक घर एक बीमा’ अवधारणा हाम्रो समाजको मुख्य आवश्यकता रहेको छ।
(लेखक आचार्य हिमालयन लाइफ इन्स्योरेन्सको विराटनगर शाखामा कार्यरत छन्।)












