काठमाडौं । चालु आर्थिक वर्षको माघसम्म बीमा व्यापार बढेको छ। कम्पनीहरुको बीमालेख संख्यासँगै बीमाशुल्क संकलन बढेको हो।
अर्थ मन्त्रालयले जारी गरेको माघसम्मको आर्थिक बुलेटिनले यस्तो देखाएको हो। आर्थिक बुटेलिनअनुसार बीमाको दायरामा आएको जनसंख्या भने घटेको छ।
चालु आर्थिक वर्षको माघसम्म जारी भएको कुल बीमालेख संख्यामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.०९ प्रतिशतले वृद्धि भई १ करोड ५९ लाख ७५ हजार ७ सय ७५ पुगेको छ। यस अवधिमा बैदेशिक बीमालेख संख्यामा उल्लेख्य वृद्धि, निर्जीवन बीमालेख तथा म्यादी र लघु म्यादी बीमालेख संख्यामा समेत वृद्धि भए पनि अन्य जीवन बीमालेख संख्यामा कमी आएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल बीमालेख संख्या १ करोड ५४ लाख ९७ हजार रहेको थियो।
चालु आर्थिक वर्षको माघसम्म संकलन भएको बीमा प्रिमियम रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.३० प्रतिशतले वृद्धि भई रु. १ खर्ब २० अर्ब ७८ करोड ८९ लाख पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा उक्त रकम रु. १ खर्ब ९ अर्ब ५१ करोड ४ लाख रहेको थियो।
चालु आर्थिक वर्षको माघसम्म जारी भएको म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमालेखसहित बीमाको दायरामा आएको जनसंख्या ४३.९४ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा उक्त जनसंख्या ४३.१६ प्रतिशत रहेको थियो।
यस अवधिको कुल बीमालेखमध्ये जीवन बीमा र निर्जीवन बीमाको हिस्सा क्रमशः ८८.६ प्रतिशत र ११.४ प्रतिशत रहेको छ। गत वर्षको माघसम्म यस्तो हिस्सा क्रमशः ८९.० प्रतिशत र ११.० प्रतिशत रहेको थियो। यस अवधिको कुल बीमा प्रिमियम रकममा जीवन बीमा र निर्जीवन बीमातर्फको हिस्सा क्रमशः ७९.५ प्रतिशत र २०.५ प्रतिशत रहेको छ।