काठमाडौं । रेटिङ एजेन्सी इक्रा नेपालले लघु जीवन बीमा कम्पनी लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको ‘इस्युअर रेटिङ’ [ICRANP-IR] BB- यथावत राखेको छ। इक्रा नेपालले कम्पनीको हालै सार्वजनिक क्रेडिट रेटिङ प्रतिवेदन अनुसार यो रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम जोखिमको श्रेणीमा रहेको जनाउँछ।
२३ वटा शाखा सञ्जाल र न्यूनतम नियमनकारी सीमाभन्दा माथिको सोल्भेन्सी अनुपात १.९९ गुणा जस्ता सकारात्मक पक्ष हुँदाहुँदै पनि कम्पनीको व्यवसायको स्वरूप, लगानी प्रतिफलमा आएको ठूलो गिरावट र सुशासन सम्बन्धी चुनौतीका कारण यसको दीर्घकालीन दीगोपन र नाफामा आर्जन क्षमतामा प्रश्न उब्जिएको छ।
आर्थिक वर्ष २०८२।८३ मा लिबर्टी माइक्रो लाइफले कुल रु. ५२ करोड ३० लाख कुल बीमाशुल्क सङ्कलन गरेको छ। कुल बीमाशुल्कको बनोट विश्लेषण गर्दा कम्पनीको पोर्टफोलियो केही निश्चित क्षेत्रमा मात्रै बढी केन्द्रित देखिन्छ। कुल सङ्कलित बीमाशुल्कमा करिब ६८ प्रतिशत योगदान म्यादी बीमाको छ। यसभित्र वैदेशिक रोजगार बीमा पुलमार्फत प्राप्त भएको व्यवसायको हिस्सा मात्रै करिब ३० प्रतिशत रु १५ करोड ६० लाख बराबर छ। कुल बीमाशुल्कको करिब ३७ प्रतिशत हिस्सा लघु कर्जाका ऋणी तथा संस्थागत लघुवित्त, सहकारी र बैंकवित्तीय संस्थाका ऋणी माध्यमबाट प्राप्त भएको छ। कुल बीमाशुल्कमा रु. १५ करोड ७० लाख एकल बीमाशुल्कको योगदान छ।
कुल बीमाशुल्कमा ६८ हिस्सा अल्पकालीन म्यादी बीमा र त्यसमा पनि ३० प्रतिशत सरकारी संरक्षण प्राप्त हुने वैदेशिक रोजगार बीमामा निर्भर हुनुले कम्पनीको आफ्नै खुद बजार विस्तार क्षमता कमजोर रहेको देखाउँछ। यसबाहेक आर्थिक वर्ष २०८७।८८ देखि बीमा प्राधिकरणले जोखिममा आधारित पूँजी(आरबीसी) प्रणाली पूर्ण रूपमा लागू गर्दैछ। दाबी अनुपात २० प्रतिशत पुगिसकेको र म्यादी बीमामा दाबी जोखिम बढी हुने भएकाले आरबीसी प्रणाली लागू भएपछि कम्पनीको सोल्भेन्सी आधार कत्तिको बलियो रहन्छ भन्नेमा आशङ्का छ।
कम्पनीको कुल लगानी रु ८७ करोड ४० लाखको करिब १३ प्रतिशत हिस्सा शेयर बजारमा छ। यो लगानीमा कम्पनीले २०८३ असार मसान्तसम्म करिब १५ प्रतिशत घाटा व्यहोरेको छ। एउटै कम्पनीको शेयरमा ५.६ प्रतिशत र एउटै सामूहिक लगानी कोषमा १७ प्रतिशत घाटामा ठूलो लगानी थुपार्नुले पूर्वव्यवस्थापनको कमजोर लगानी रणनीतिलाई स्पष्ट पार्छ।
आव २०८२।८३ मा कम्पनीको खुद नाफा ९७ प्रतिशतले घटेर जम्मा रु ४ लाख ६० हजारमा सीमित भएको छ। यसले गर्दा शेयरधनीले पाउने प्रतिफल ३.१ प्रतिशतबाट झरेर ०.१ प्रतिशत मा पुगेको छ। कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन (आईपीओ) निष्काशन गर्ने तयारी गरिरहेको छ।
जीवन बीमा कम्पनीहरूले बीमितलाई दिने बोनश प्रतिफल मुख्यतया आफ्ना दीर्घकालीन लगानी, डिबेन्चर र मुद्दती निक्षेपबाट आउने ब्याजदरमा निर्भर हुन्छ। लिबर्टीको लगानी प्रतिफल १०.४ प्रतिशतबाट घटेर ५.६ प्रतिशतमा झरेको छ। खुद दाबी भुक्तानी अनुपात कुल खुद बीमाशुल्कको २० प्रतिशत पुगिसकेको छ।












