काठमाडौं । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले विकासशील देशहरुमा कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले आर्थिक रुपान्तरणको ढोका खोले पनि यसले धनी र गरिब राष्ट्रहरुबीचको दूरी झन् बढाउन सक्ने औँल्याएको छ। ‘डिजिटल प्रोग्रेस एन्ड ट्रेन्ड्स रिपोर्ट २०२५’ का अनुसार नेपालजस्ता कम आय भएका मुलुकहरुले एआईको लाभ लिन ‘पूर्वाधार, तथ्यांक र सीप’ मा व्यापक लगानी गर्नुपर्ने देखिएको छ।
प्रतिवेदनले मध्य–आय भएका मुलुकहरुमा ‘जेनेरेटिभ एआई’ (च्याटजीपीटीजस्ता औजार)को प्रयोग तीव्रताका साथ बढिरहेको उल्लेख गरेको छ। सन् २०२५ को मध्यसम्ममा च्याटजीपीटीको कुल ट्राफिकको ४० प्रतिशतभन्दा बढी हिस्सा ब्राजिल, भारत, इन्डोनेसिया र भियतनामजस्ता देशबाट आएको देखिन्छ। यसले प्रविधिमा विकासशील देशहरुको चासो र ग्रहणशीलतालाई पुष्टि गर्छ।
एआईले विकासशील देशका लागि निम्न क्षेत्रमा वरदान सावित हुन सक्ने प्रतिवेदनको निष्कर्ष छ। सरकारी सेवा वितरणलाई चुस्त बनाउन र भ्रष्टाचार न्यूनीकरण गर्न एआई सहयोगी हुने र साना किसानलाई मौसम र माटोको जानकारी दिन तथा दुर्गम क्षेत्रमा ‘टेलिमेडिसिन’ मार्फत विशेषज्ञ सेवा पुर्याउन एआईले ‘लिपफ्रग’ (छलाङ मार्ने) अवसर प्रदान गर्नेछ। यसबाहेक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुको प्रशासनिक बोझ कम गरी सिकाइमा बढी समय खर्च गर्न मद्दत पुग्ने प्रतिवेदनमा लेखिएको छ।
विश्व बैंकले एआईका कारण उत्पन्न हुन सक्ने केही गम्भीर जोखिमहरुबारे पनि सचेत गराएको छ। उच्च आय भएका देशहरुमा ७७ प्रतिशत डेटा सेन्टर क्षमता छ भने कम आय भएका देशहरुमा यो ०.१ प्रतिशतभन्दा पनि कम छ। यसले गर्दा प्रविधिमा धनी देशहरुको एकाधिकार बढ्ने देखिन्छ।
एआईले विशेषगरी सेवा क्षेत्र र सामान्य उत्पादन क्षेत्रका रोजगारीहरुलाई विस्थापित गर्न सक्छ। दक्ष जनशक्तिको अभावमा नेपालजस्ता देशहरुले नयाँ रोजगारी सिर्जना गर्न संघर्ष गर्नुपर्ने हुन सक्छ। प्रतिवेदनले नेपाल, बंगलादेश र नाइजेरियाजस्ता देशहरुबाट डिजिटल प्रतिभाहरु बाहिरिने दर भित्रिने दरभन्दा ३–४ गुणा बढी रहेको उल्लेख गरेको छ।
नेपालजस्ता मुलुकहरुले एआईबाट लाभ लिन प्रतिवेदनले ‘४ सी’को अवधारणा अघि सारेको छः
कनेक्टिभिटीः भरपर्दो र सस्तो इन्टरनेटको पहुँच। नेपालमा अझै पनि गुणस्तरीय इन्टरनेटको मूल्य र पहुँच ठूलो चुनौती हो।
कम्प्युटः एआई चलाउन आवश्यक पर्ने डेटा सेन्टर र क्लाउड कम्प्युटिङमा लगानी।
कन्टेक्स्ट (सन्दर्भ): नेपाली भाषा, संस्कृति र स्थानीय आवश्यकताअनुसारको तथ्यांकमा आधारित एआई मोडलहरुको विकास।
कम्पेटेन्सी (सक्षमता): आधारभूत डिजिटल साक्षरतादेखि विशेषज्ञ इन्जिनियरसम्मको जनशक्ति तयार पार्नु।
विश्व बैंकको निष्कर्ष छ कि एआई केवल एक प्रविधिमात्र नभई यो शक्ति र अर्थतन्त्रको नयाँ आधार हो। यदि नेपालले समयमै एआई नीति, लगानी र जनशक्ति विकासमा ध्यान नदिएमा यो प्रविधिले देशलाई विश्व अर्थतन्त्रबाट झन् टाढा धकेल्न सक्छ। तर, सही नीतिगत हस्तक्षेप भएमा यसले विकासका दशकौं लामो अवरोधहरुलाई एकै झट्कामा पन्छाउन सक्ने सामथ्र्य पनि राख्दछ।












