काठमाडौं । होर्मुजमा यूएईको स्वामित्वमा रहेको कार्गो जहाज डुबेपछि आइफोन र महँगा परफ्युम बोतलहरु समुद्रमा तैरिरहेको देखिएको छ। घटनाको भिडियो सार्वजनिक भएको छ। जसमा साना डुंगामा मानिसहरु छरिएका सामान संकलन गरिरहेको देखाइएको छ।
खबरहरुअनुसार सिंगापुरको झन्डा भएको कन्टेनर जहाज जीएफएस प्राइड बुधबार समुद्री खानीमा ठोक्किएपछि डुबेको थियो। जहाजमा आगो लागेको पनि खबर आएको छ।
समुद्री अधिकारीहरुका अनुसार जहाजमा रहेका सबै २१ जना चालक दलका सदस्यहरुलाई सुरक्षित रुपमा उद्धार गरिएको छ र कुनै पनि चोटपटक लागेको छैन। जहाज दुबईबाट लगभग २ हजार ५०० कन्टेनर बोकेको बताइएको छ। जसमा आईफोन र महँगा परफ्युमहरु समावेश छन्।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले जहाज समुद्री माइनमा ठोक्किएको दाबी गरेको छ। यद्यपि, समुद्री अधिकारीहरुले यो दाबीलाई अस्वीकार गर्दै भने कि जहाज अज्ञात प्रक्षेपणले ठोक्किएको थियो।
होर्मुजमा बढ्दो खतरा
जहाज दुर्घटना होर्मुजमा बढ्दो तनावको समयमा आएको हो। यो समुद्रीमार्ग तेल र एलएनजीको विश्वव्यापी आपूर्तिका लागि महत्वपूर्ण छ। विश्वको तेल र एलएनजीको लगभग पाँचौँ भाग यसबाट गुज्रन्छ।
यसअघि सेप्टेम्बर २३ मा एन्टिगुवा र बारबुडा झन्डा भएको कार्गो जहाज केप दाओ पनि होर्मुजनजिकै प्रक्षेपणको ठक्करबाट डुबेको थियो। घटनामा चालक दलका एक सदस्यको मृत्यु भएको थियो भने अन्यलाई सुरक्षित रुपमा उद्धार गरिएको थियो। –एजेन्सी












