काठमाडौं । ३१.९ मेगावाट क्षमताको अपर मेवाखोला जलविद्युत् आयोजना निर्माण गर्न वित्तीय व्यवस्थापन सम्वन्धि सम्झौता सम्पन्न भएको छ । उक्त जलविद्युत् निर्माण गर्न ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा लक्ष्मी सनराइज बैंकको समेत लगानी हुने गरी वित्तीय व्यवस्थापन सम्वन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
उक्त आयोजनाको प्रवर्द्धक कम्पनी सौर्य होल्डिङ प्रालि र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । उक्त सम्झौताअनुसार यस आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ र लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको कन्सोर्टियमले ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्नेछ ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको समुपस्थितिमा उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका चिफ बिजनेश अफिसर कल्याण विक्रम पाँडे, लक्ष्मी सनराइज बैंकका चिफ बिजनेश अफिसर मनिशराज कुँवर र सौर्य होल्डिङ प्रालिका प्रबन्ध निर्देशक मोहन विक्रम कार्कीले हस्ताक्षर गरेका थिए ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आयोजना निर्धारित समय सिमाभित्र सम्पन्न भई राज्यको ऊर्जा उत्पादन वृद्धि भई निर्यात प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
ताप्लेजुङ्गमा निर्माण हुने उक्त जलविद्युत आयोजनाको अनुमानित लागत ६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । सम्झौताअनुसार बैंकले ७५ प्रतिशत लगानी गर्नेछ र बाँकी २५ प्रतिशत रकम सौर्य होल्डिङले हकप्रद जारीबाट उठेको रकम लगानी गर्नेछ । यो आयोजना निर्माण सुरु भएको मितिबाट ३ वर्ष भित्र सम्पन्न हुने छ ।