काठमाडौं । विज्ञापन बोर्डको अध्यक्षका लागि सर्टलिस्टमा परेका उम्मेदवारहरुको व्यावसायिक कार्ययोजना तथा प्रस्तुतीकरण तथा अन्तर्वार्ता यही भदौ २८ गते हुने भएको छ।
सूचना तथा सञ्चार मन्त्रालयले आज सूचना जारी गर्दै सर्टलिस्टमा परेका उम्मेदवारहरुको अन्तर्वार्ताको मिति सार्वजनिक गरेको हो। कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता मन्त्रालयमै हुनेछ।
सर्टलिस्टमा परेका उम्मेदवारहरुलाई ३ समूहमा विभाजन गरिएको छ। जसअनुसार समूह ‘क’मा परेका उम्मेदवारहरु अनन्तकान्त मैलाली, अनिल बास्कोटा, अशोककुमार घिमिरे र पुष्पराज गिरीको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म हुनेछ।
यसैगरी समूह ‘ख’मा परेका उम्मेदवारहरु भुवनप्रसाद आचार्य, मेगराज खड्का, मेघेन्द्रप्रकाश गिरी र रामहरि कार्कीको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता मध्याह्न १२ः०५ बजेदेखि दिउँसो २ः०५ बजेसम्म हुनेछ।
समूह ‘ग’मा परेका उम्मेदवाहरु लक्ष्मण हुमागाइँ, सन्तोष श्रेष्ठ र सुजनराज श्रेष्ठको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता दिउँसो २ः३० देखि ४ः०० बजेसम्म हुनेछ।
उम्मेदवारहरुले आफ्नो तोकिएको समयभन्दा ३० मिनेट अगावै व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणको सफ्टकपी र आवेदनका साथ पेस गरिएका कागजातहरुको सक्कल प्रतिसहित उपस्थित हुनुपर्नेछ। व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण १५ मिनेट र बाँकी समय अन्तर्वार्ता हुनेछ।












