काठमाडौं । उच्च अदालत पाटनले हिमालयन लाइफ इन्स्योरेन्सको सहायक प्रमुख कार्यकारी अधिकृतद्वयलाई र प्रबन्धक बिबेक कुमार शाहलाई निलम्बन गर्ने आदेश तत्काल स्थगनमा राख्न नेपाल बीमा प्राधिकरणको नाममा अन्तरिम आदेश जारी गरेको छ।
हिमालयन लाइफका सञ्चालक राजीव प्रसाद प्याकुरेल, आशिष ढकाल, शाैरभ दुगड, सचिन आचार्य, प्रमिला केसी र दिगम्ब झाका साथै प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहाल, सहायक प्रमुख कार्यकारी राजन अधिकारी, लक्षमण ज्ञवाली, प्रबन्धक विवेक कुमार साहसमेतलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको थियो ।
सहायक प्रमुख कार्यकारी राजन अधिकारी, लक्षमण ज्ञवाली, प्रबन्धक विवेक कुमार साहको हकमा सो निर्देशन तत्काल कार्यान्वयन नगर्न अदालतले बिहीबार अन्तरिम आदेश जारी गरेको हो। सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मण ज्ञवाली समेतको तर्फबाट उच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो।
उच्च अदालत पाटनका न्यायाधिश केशव प्रसाद अधिकारीको एकल इजलाशले ज्ञवालीको रिट निवेदनका हकमा लिखित जवाफ सहित विषयमा छलफलका लागि असोज १५ गते दुबै पक्षलाई डाँकेको छ। यसैगरी राजन अधिकारीको रिट निवेदनमा नायायाधिश श्रीधरा कुमारी पुडासैनीको एकल इजलाशले असोज १३ गतेका लागि बीमा प्राधिकरणलाई लिखित जवाफ सहित डाॅकेको छ।
निवेदकको तर्फबाट दायर गरिएको रिट निवेदनमा प्राधिकरणबाट गत असार २ गते च.नं. ७८८१ बाट जारी गरिएको निर्देशन खारेजी र रिट निवेदनको टुङ्गो नलाग्दा सम्म अन्तरिम आदेशबाट स्थगन गर्न माग गरिएको थियो। प्राधिकरणबाट जारी निर्देशन खारेजीका सम्बन्धमा अब उच्च अदालतले प्राधिकरणको तर्फबाट पेश गरिने लिखित जवाफ र सुनुवाइ पछि आदेश जारी गर्नेछ ।
अभियुक्तहरू विरूद्ध धितोपत्र सम्बन्धी कसूरको अभियोगमा काठमाडाैं जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएपछि बीमा प्राधिकरणले धितोपत्र ऐन २०६३ को प्रावधान बमोजिम अभियोग सम्बन्धी विषयलाई संज्ञानमा लिएर निलम्बनको निर्देशन जारी गरेको थियो ।
रिट निवेदनमा प्राधिकरणविरूद्ध उत्प्रेषणयुक्त आदेश जारी गर्न माग गरिएको थियो। अधिकार प्राप्त सरकारी निकायले क्षेत्राधिकार नाघेर गर्ने आदेशको खारेजीका लागि माग गर्दै उच्च अदालत वा सर्वोच्च अदालतमा पीडित पक्ष वा सरोकारवालाको तर्फबाट यस्तो माग सहित रिट निवेदन दायर गरिन्छ।












