काठमाडौं । बीमा कम्पनीहरुले बीमा उत्पादनहरु सिर्जना गर्न कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग बढाउन थालेका छन्।
प्रविधि खर्च बढ्दै जाँदा बीमा कम्पनीहरुले जोखिम र पोलिसी मूल्यांकनभन्दा बाहिरको एआई प्रयोग गरिरहेका छन्। यसले कुन एप्लिकेसनहरुले सबैभन्दा बढी फाइदा दिनेछन् भन्ने प्रश्न उठाउँछ।
ग्लोबलडाटाका बीमा विश्लेषक साहिल हैदरले जुलाईको एक प्रतिवेदनमा भनेका छन्, ‘एआई क्षमताहरुमा सुधार हुँदै जाँदा बीमा कम्पनीहरुले जोखिम चयन सुधार गर्नुभन्दा बाहिर ग्राहक संलग्नता बढाउन, उत्पादन नवप्रवर्तनलाई तीव्र पार्न र सञ्चालन दक्षता सुधार गर्न खोजिरहेका छन्।’
ग्लोबलडाटा सर्वेक्षणअनुसार ३४.४ प्रतिशत उत्तरदाताले अन्डरराइटिङ र जोखिम मूल्यांकनबाट एआईले सबैभन्दा बढी फाइदा लिने अपेक्षा गरेका छन्। त्यसपछि ग्राहक सेवा (२०.४ प्रतिशत), दाबी व्यवस्थापन (१८.३ प्रतिशत), उत्पादन विकास (१६.१ प्रतिशत) र मार्केटिङ तथा वितरण (१०.८ प्रतिशत) आउँछन्।
अन्डरराइटिङ सबैभन्दा प्रमुख एप्लिकेसन रह्यो। तर, जुलाई २०२५ को तुलनामा यसको हिस्सा ११.४ प्रतिशत अंकले घट्यो। उत्पादन विकासमा सबैभन्दा ठूलो वृद्धि ८.९ प्रतिशत देखियो।
बीमा कम्पनीहरुले दाबी प्रशोधन गर्न, ठगी पत्ता लगाउन, ग्राहकको सोधपुछको जबाफ दिन र बीमा उत्पादनहरु सिर्जना गर्न पनि एआई प्रयोग गरिरहेका छन्। यो सर्वेक्षण अप्रिल १५ देखि जुलाई २२ का बीचमा भर्डिक्ट मिडियाको वेबसाइटहरुमा गरिएको थियो।
खर्चमा तीव्रता आउने अपेक्षा गरिएको छ। फर्च्युन बिजनेस इनसाइट्सले सन् २०२५ मा विश्वव्यापी एआई बीमा बजार १०.४ अर्ब डलर अनुमान गरेको छ। यो यस वर्ष १३.५ अर्ब डलर तथा २०३४ सम्ममा १५४.४ अर्ब डलर पुग्ने अनुमान गरिएको छ। जुन वार्षिक ३५.७ प्रतिशतको वृद्धि हो।
सन् २०२५ मा एसिया प्रशान्त बजारको मूल्यांकन २.८ अर्ब डलर थियो। जसमा चीनले ७१ करोड डलर र भारतले ५८ करोड डलरको योगदान गरेको थियो। प्रतिवेदनले ४२.२ प्रतिशतको क्षेत्रीय वृद्धि दरको प्रक्षेपण गरेको छ।
डिजिटल सेवाहरुको विस्तार र स्मार्टफोनको प्रयोगले ग्राहकको अन्तर्दृष्टि बढाउने भएकाले एसियाभरका बीमा कम्पनीहरुले स्वचालन र डाटा विश्लेषणमा लगानी गरिरहेका छन्।
प्रतिवेदनका अनुसार यी लगानीले बीमा कम्पनीहरुलाई ती बजारमा ग्राहकसम्म पुग्न मद्दत गर्न सक्छ। जहाँ बीमा कम्पनीहरुको संख्या कम रहन्छ। –एजेन्सी












