काठमाडौं । निर्जीवन बीमकले चालु आर्थिक वर्ष २०८३।८४ को दोस्रो महिना भदौसम्म करिब १० अर्ब रुपैयाँको व्यापार भित्र्याएका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौसम्म निर्जीवन बीमकहरुले ९ अर्ब ९७ करोड ७४ लाख रुपैयाँको कुल बीमाशुल्क संकलन गरेका छन्। त्यसमध्ये १४ वटा निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमकले सम्पत्ति बीमातर्फ सर्वाधिक २ अर्ब ७० करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा सम्पत्ति बीमाको हिस्सा २७.१४ प्रतिशत रहेको छ।
कम्पनीहरुको दोस्रो धेरै व्यापार मोटर बीमातर्फ देखिएको छ। समीक्षा अवधिसम्म कम्पनीहरुले मोटर बीमातर्फ २ अर्ब ६० करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा मोटर बीमाको योगदान २६.१४ प्रतिशत रहेको देखिन्छ।
यसैगरी तेस्रो धेरै व्यापार कम्पनीहरुले इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामार्फत भित्र्याएका छन्। समीक्षा अवधिसम्म यो क्षेत्रबाट कम्पनीहरुले १ अर्ब ५० करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाको हिस्सा १५.१२ प्रतिशत रहेको छ।
चालु वर्षको भदौसम्म कम्पनीहरुले विविध बीमातर्फ ९० करोड ३ लाख रुपैयाँ (९.०२ प्रतिशत), सामुद्रिक बीमातर्फ ७९ करोड १५ लाख रुपैयाँ (७.९३ प्रतिशत), हवाई बीमातर्फ ४९ करोड २ लाख रुपैयाँ (४.९१ प्रतिशत), स्वास्थ्य बीमातर्फ ४२ करोड १८ लाख रुपैयाँ (४.२३ प्रतिशत), पशुपन्छी तथा कृषि बीमातर्फ ३८ करोड ६३ लाख रुपैयाँ (३.८७ प्रतिशत), लघु बीमातर्फ १४ करोड ५२ लाख रुपैयाँ (१.४६ प्रतिशत) र दायित्व बीमातर्फ १ करोड ६७ लाख रुपैयाँ (०.१७ प्रतिशत) कुल बीमाशुल्क संकलन गरेका छन्।













