काठमाडौं । होटल द सोल्टी काठमाडाैं आइतबारदेखि अन्तर्राष्ट्रिय होटल सञ्जाल मेरियटको ‘अटोग्राफ कलेक्शन’ अन्तर्गतको होटलका रूपमा सञ्चालनमा आउने भएको छ।
काठमाडाैं उपत्यकामा अन्तर्राष्ट्रिय होटल चेनको फ्रेन्चाइज होटलको उपस्थिति बाक्लिंदै गएपछि सोल्टीले आफ्नो गाैरवशाली इतिहास जोगाउँदै विश्वव्यापी बजारीकरणका लागि मेरियटसँग सहकार्य गरेको हो। मेरियट र सोल्टीबीच गत दुई महिना अघि समझदारी भएको हो।
मेरियटको ‘अटोग्राफ कलेक्शन’ अन्तर्गतको यो पहिलो होटल हुनेछ । मेरियट अन्तर्गत कमलपोखरीमा काठमाडाैं मेरियट, ठमेलमा फेयरफिल्ड बाइ मेरियट, अलफ्ट काठमाडाैं होटल सञ्चालनमा छन् ।
द सोल्टी काठमाडाैंका अनुसार, होटलको सम्पूर्ण व्यवस्थापन र कर्मचारी साबिकमा झैं नेपाली नै हुने भएपनि अन्तर्राष्ट्रिय बजारमा होटलको प्रचार प्रसार र ग्राहक वफादारीता कार्यक्रम (लोयल्टी प्रोग्राम) का लागि मेरियटसँगको सहकार्य गरिएको हो।
मेरियटसँगको सहकार्यबाट सोल्टीका ग्राहकले अझै धेरै लाभ सहितको सुविधाहरू प्राप्त गर्ने सोल्टीको विश्वास छ।
मेरियटका ग्राहकका लागि जारी गरिएको मेरियट ‘बोनभोय लोयल्टी प्रोग्राम’ अन्तर्गत विभिन्न छुट, सुविधाका लागि योग्य पर्यटकले ‘द सोल्टी काठमाडाैं’ को सेवामा पनि सोही अनुसारको सुविधा प्राप्त गर्नेछन्।
विक्रम सम्वत २०२३ देखि सञ्चालनमा आएको काठमाडाैंको पुरानोमध्येको द सोल्टी काठमाडाैंमा कुल २८५ कोठा छन् । यो पाँच तारे स्तरिय होटल हो।
पछिल्लो पटक २०६८ सालमा ओवरोय होटल्सले सोल्टी इन्टरप्राइजेज प्रालिलाई अधिकांश शेयर स्वामित्व बिक्री गरेपछि पूर्णतः नेपाली स्वामित्व र व्यवस्थापन अन्तर्गत सञ्चालन हुँदै आएको छ। यो होटलमा इन्टरप्राइजेजको ५८ प्रतिशत, नेपाल वायू सेवा निगमको १२ प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको छ।

















