काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले केही व्यक्तिहरूसँग कम्पनीको नाम जोडेर विभिन्न सञ्चारमाध्यम तथा अनलाइन पोर्टलमा प्रकाशित भ्रामक समाचार र अड्कलबाजीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले यस सम्बन्धित विषयवस्तु विभिन्न निकायमा छानबिनको क्रममा रहेको र कम्पनीले उक्त अनुसन्धानलाई पूर्ण रूपमा सहयोग गरिरहेको स्पष्ट पारेको छ। कम्पनीले अनुसन्धानलाई प्रभावित पार्ने गरी कुनै पनि टिप्पणी नगर्न समेत सम्पूर्ण सरोकारवालाहरूलाई अनुरोध गरेको छ।
विज्ञप्तिमा, उक्त विषयले कम्पनीको कार्य सञ्चालन, वित्तीय अवस्था र ग्राहकप्रतिको दायित्व पूरा गर्ने क्षमतामा कुनै असर नपारेको स्पष्ट पारिएको छ। कम्पनीको वित्तीय अवस्था सुदृढ र सुरक्षित रहेको तथा नियामक मापदण्डहरू सहज रूपमा पूरा भइरहेको दाबी गरिएको छ।
यसैगरी, कम्पनीमा आउने दाबी तथा दायित्वहरू नियमित प्रक्रिया अनुसार भुक्तानी भइरहेको र कम्पनीले आफ्ना प्रतिबद्धताहरू पूरा गर्दै सक्षम कम्पनीको रूपमा स्थापित गरिरहेको जनाएको छ। कम्पनीका व्यावसायिक गतिविधिहरू स्थिर र सुचारु रूपमा सञ्चालन भइरहेको तथा उच्च व्यवस्थापन र कर्मचारीहरूमार्फत पूर्ण रूपमा सञ्चालित रहेको र स्वस्थ अवस्थामा रहेको स्पष्ट पारिएको छ।
यसैगरी, कुनै कार्यकारी पदाधिकारीको अस्थायी अनुपस्थिति वा विदेश भ्रमणले कम्पनीको सञ्चालन वा सुशासनमा कुनै असर नपरेको र नपर्ने पनि कम्पनीले जानकारी गराएको छ।
कम्पनीले सबै सरोकारवालाहरू, साझेदारहरू र लगानीकर्ताहरूलाई प्रमाणीत र आधिकारिक सूचनामा मात्र विश्वास गर्न अनुरोध गरेको छ। कम्पनीको विवेकपूर्ण वित्तीय व्यवस्थापन, पारदर्शिता र दीर्घकालीन स्थायित्वप्रतिको प्रतिबद्धतामा विश्वस्त रहन पनि कम्पनीले आग्रह गरेको छ।
सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले शेयर लगानी र पुनर्बीमा दलाली कमिशन भुक्तानी विषयमा अनुसन्धानका लागि कम्पनीको प्रवर्द्धक मध्येका दिपक भट्ट र सुलभ अग्रवाल सहितलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेपछि कम्पनी वित्तीय संकटमा परेको भन्दै समाचार प्रकाशन भएपछि खण्डन गरेको हो।












