काठमाडौं । पछिल्लो समय नेपालमा बीमाबारे चेतना बढ्दै गए पनि अझै पनि धेरै जनसंख्यामा बीमाको पहुँच पुग्न नसकेको देखिन्छ। यसले बीमा नियामक र बीमकहरुले अझै सचेतनामूलक कार्यक्रम गरेर बीमा जागरण बढाउनुपर्छ भन्ने प्रस्ट पार्छ।
नेपालमा कतिपय मानिसले बीमाबारे गलत धारणा राख्छन्। बीमा बुझे पनि बीमा गर्न भने तर्किन्छन्।
नेपाल बीमा प्राधिकरणले बीमाबारे जनचेतना बढाउन बेला–बेला विभिन्न कार्यक्रम र चेतनामूलक सन्देशहरु पनि जारी गर्ने काम गर्छ। तर, अझै पनि पर्याप्त नभएको देखिन्छ।
बीमा प्राधिकरणले आफ्नो वेबसाइटमा बीमासम्बन्धी भ्रम र वास्तविकता बुझाउन सचेतामूलक सन्देश जारी गरेको छ।
बीमासम्बन्धी भ्रम र वास्तविकता
भ्रमः बीमा नाफा कमाउने माध्यम हो।
वास्तविकताः बीमा नाफा कमाउने माध्यम होइन। यो बीमा गर्न योग्य व्यक्ति वा सम्पत्तिको पर्न सक्ने अप्रत्याशित जोखिमको रक्षा कवच हो। क्षति भएमा क्षतिपूर्ति दिने साधनका रुपमा बीमाले जेखिम विविधीकरणमार्फत व्यक्ति तथा सम्पत्तिको सुरक्षा गर्छ। उदाहरणका रुपमा यदि बीमितको मृत्यु भयो भने परिवारलाई आर्थिक क्षतिपूर्ति दिन्छ। जसले परिवारलाई नाफा नभई क्षतिबाट उठ्न प्रेरित गर्छ। अर्को उदाहरण हेर्दा यदि आगलागीलगायतका दुर्घटनामा सम्पत्तिको क्षति भएमा बीमा कम्पनीहरुले क्षतिपूर्ति दिन्छन्।
भ्रमः सबै व्यक्ति र सम्पत्तिको बीमा गर्न सकिन्छ।
वास्तविकताः कानुनतः बीमा गर्न योग्य व्यक्ति तथा सम्पत्तिको मात्र बीमा गर्न सकिन्छ। अर्कोतर्फ बीमा गर्नका लागि बीमित र प्रस्तावकबीच ‘बीमायोग्य हित’ हुनु अनिवार्य छ। उदाहरणका रुपमा कुनै व्यक्तिले अर्काको छोराछोरी वा अर्काको सम्पत्तिको बीमा गर्न सक्दैन। किनकि अर्काको सम्पत्तिको क्षतिबाट उक्त व्यक्तिलाई प्रत्यक्ष हानी वा नोक्सानी हुँदैन र उक्त सम्पत्ति वा जीवनसँग निजको सम्बन्ध हुँदैन।
भ्रमः सम्पत्तिको धेरै बीमा कम्पनीमा बीमा गरी बीमा दाबी लिएर बढी पैसा पाउन सकिन्छ।
वास्तविकताः यो सम्भव छैन। बीमाबाट सम्पत्तिमा भएको वास्तविक नोक्सानीबराबरको रकममात्र दाबीका रुपमा प्राप्त हुन्छ। यदि एकभन्दा बढी कम्पनीमा निर्जीवन बीमा गरेको भए दाबी भुक्तानी सबै बीमकहरुले आआफ्नो अनुपातमा मिलेर भुक्तानी गर्छन्। यसरी कुल दाबी रकम क्षति भएका रकमभन्दा बढी हुन सक्दैन। त्यसैले बढी बीमा कम्पनीमा बीमा दाबी गरेर बढी रकम पाउन सकिँदैन।
भ्रमः सम्पत्तिको बीमा गर्नु भनेको पैसा खेर फाल्नु हो।
वास्तविकताः बीमा गर्नु पैसा खेर फाल्नु नभई सम्पत्तिमा जुनसुकै बेला पनि कुनै न कुनै जोखिम आउने हुनाले उक्त सम्पत्तिमा भएको जोखिमको रक्षावरण गर्नु हो। यसरी बीमाले मानिसलाई हरेक महिना वा वर्ष अनिवार्य रुपमा बीमाशुल्क बीमकलाई भुक्तानी गर्न प्रोत्साहित गर्छ। जसले वित्तीय अनुशासन कायम गर्न मद्दत गर्छ। दुर्घटना, आगलागी, चोरी, प्राकृतिक प्रकोपजस्ता घटनाहरु अप्रत्याशित हुन्छन्। यी घटनाले सम्पत्तिमा ठूलो आर्थिक क्षति पुर्याउँछन्। बीमा भनेको त्यस्ता क्षतिबाट बच्नका लागि गरिएको सुरक्षा कवच हो।
उदाहरणका लागि केही प्रत्याशित कारणले कुनै एक व्यक्तिको घरमा आगलागी भयो। अब घर पुनर्निर्माण गर्न करिब ५० लाख रुपैयाँ लाग्ने अवस्था आयो। यदि ती व्यक्तिले घरको बीमा गरेका थिए भने बीमा कम्पनीले दिएको क्षतिपूर्तिले उसलाई आफ्नो घर पुनर्निर्माण गर्न सजिलो हुन्थ्यो। तर, यदि उसले बीमा नगरेको भए आफ्नो जीवनभरको बचत गुमाउनुपर्ने वा ऋण लिनुपर्ने वा घरबासविहीन हुनुपर्ने अवस्था आउन सक्थ्यो। यसरी बीमा गर्नु भनेको पैसा खेर फाल्नु नभई जोखिमबाट बच्ने उपाय हो।












