काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा विराटनगरको होटल एयरपोर्टमा सम्पन्न भएको हो ।
सभाले अन्य कुनै इन्स्योरेन्स कम्पनी एकआपसमा गाभ्न, गाभिन वा प्राप्ति गर्न आवश्यक भएमा सोसम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव अनुमोदन गरेको छ ।
सभाले नियमनकारी निकायबाट कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने निर्देशन आएमा सोसम्बन्धमा कार्य गर्न सञ्चालक समितिलाई नै अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव पारित गरेको छ । कम्पनीको नियमावली र प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ ।
सभाले गत आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ । सभाले सर्वसाधारणतर्फ दुईजना सञ्चालकको निर्वाचन गरेको छ ।
सभाले सञ्चालकको बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य सेवासुविधा र सामाजिक उत्तरदायित्वअन्तर्गत गरेका खर्च स्वीकृत गरेको छ ।