काठमाडौं । भारतको वित्तीय अपराध विरुद्ध लड्ने एजेन्सी, प्रवर्तन निर्देशनालयले मुद्रा निर्मलीकरणमा सघाएको भन्दै मेगा(फेसबुक सञ्चालक) र गुगललाई बयानका लागि बोलाएको छ।
असंख्य अवैध अनलाइन जुवा प्लेटफर्महरूको प्रवर्द्धन गरेको भन्दै निर्देशनालयले मेटा र गुगलका प्रतिनिधिहरूलाई बयानका लागि बोलाएको हो। उनीहरूलाई जुलाई २१ मा एजेन्सी समक्ष बयान दिन र मनी लान्ड्रिंग रोकथाम ऐन अन्तर्गत आफ्नो बयान दर्ज गर्न भनिएको छ।
डेक्कन हेराल्डका अनुसार, यो विषयमा दुई कम्पनीहरूबाट तत्काल कुनै प्रतिकृया आएको छैन।
अनुसन्धान एजेन्सीले विभिन्न इन्टरनेट-आधारित सामाजिक सञ्जाल र एप स्टोरहरूमा उनीहरूको लागि राखिएका विज्ञापनहरूको उदाहरण सहित अवैध जुवा र जुवा खेल्न मिल्ने वेबसाइटका लिङ्कहरू प्रायोजन गर्ने धेरै प्लेटफर्महरूको अनुसन्धान गरिरहेको छ।
अवैध जुवा प्रवर्द्धन गरेको विषयमा केही अभिनेता र खेलकुद व्यक्तिहरू पनि एजेन्सीको निगरानीमा छन् । उनीहरूलाई पनि चाँडै एजेन्सीले बयानका लागि बोलाइने अपेक्षा गरिएको छ।
अनुसन्धान निकायले भनेको छ कि अवैध अनलाइन सट्टेबाजी र जुवा प्लेटफर्महरूले निर्दोष मानिसको पैसा ठगी गरिरहेका थिए र करोडौं रुपैयाँको अवैध मुद्राको शुद्धिकरण र कर छली पनि गरिरहेका थिए।

















