काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा हिमालयन रिइन्स्योरेन्सका पूर्वअध्यक्ष शेखर गोल्छालाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले बुधबार गोल्छालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतमा उपस्थित भएका गोल्छाको थुनछेक बहस भएको थियो। थुनछेक बहसपछि गोल्छासँग अदालतले १ करोड रुपैयाँ धरौटी मागेको हो।
यसअघि जिल्ला अदालत काठमाडौंले पनि १ करोड रुपैयाँ धरौटीमा गोल्छालाई रिहा गर्न आदेश दिएको थियो। गोल्छा बीमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्र सम्बन्धी सुरमा २५ लाख रुपैयाँ गरी कुल १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।
गोल्छाले गत फागुन २५ गते हिमालयन रिइन्स्योरेन्सको अध्यक्षबाट राजीनामा दिएका थिए। उनी नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पनि हुन्।












