काठमाडौं । कोरियन फेडरेशन अफ कम्युनिटी क्रेडिट कोअपरेटिभ्स (केएफसीसीसी) र यसको सहायक कम्पनी सेम्युल गुम्गो फाउन्डेसनले दक्षिण कोरियामा गरिब बालबालिका र किशोरकिशोरीको चिकित्सा सुरक्षा सुनिश्चित गर्न एउटा प्रशंसनीय कदम चालेका छन्। आफ्नो सामाजिक उत्तरदायित्वको एउटा भागका रुपमा उनीहरुले देशभरका ४७७ गरिब बालबालिका र किशोरकिशोरीहरुको सम्पूर्ण बीमा प्रिमियम कभर गर्नेछन्। जसले स्वास्थ्य सेवामा पहुँच बढाउन र परिवारहरुमा आर्थिक बोझ कम गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।
दक्षिण कोरियाको राष्ट्रिय मिडिया द कोरिया न्युज प्लसका अनुसार सियोलमा रहेको केएफसीसीसी देशका लगभग १ हजार ३०० वित्तीय सहकारीको छाता संगठन हो। जसमार्फत हाल २ करोडभन्दा बढी मानिसले विभिन्न वित्तीय लाभहरु प्राप्त गर्छन्। यसपटक संस्थाले मानवीय दृष्टिकोणबाट स्वास्थ्य सेवाहरुको विकासमा पनि योगदान पुर्याइरहेको छ।
यो पहल केएफसीसीसीको ‘होप–शेयरिङ इन्स्योरेन्स’ को एउटा हिस्सा हो। जुन एक सार्वजनिक बीमा कार्यक्रम हो। यसले गरिब बालबालिका र किशोरकिशोरीरुको स्वास्थ्य लागत घटाएर उनीहरुको स्वस्थ विकास सुनिश्चित गर्ने लक्ष्य राख्छ। यो बीमा पोलिसीले बिरामी वा दुर्घटनाका कारण अस्पताल भर्ना, बाहिरी बिरामी उपचार र शल्यक्रियाको सम्पूर्ण लागत व्यहोर्नेछ।
यस पोलिसीले आकस्मिक रुपमा जलेको, फ्याक्चर भएको, प्लास्टर कास्ट भएको, सडक दुर्घटना भएको, खाद्य विषाक्तता भएको र अन्य निर्दिष्ट रोगहरुका लागि क्षतिपूर्ति पनि प्रदान गर्दछ। यो बीमा ५ वर्षको लागि मान्य हुनेछ र निर्दिष्ट रकमसम्म आर्थिक सहयोग प्रदान गर्नेछ।
सन् २०१७ मा पहिलोपटक सुरु गरिएको यो पहलले अहिलेसम्म ३ हजार ८२९ गरिब बालबालिका र किशोरकिशोरी लाभान्वित भइसकेका छन्। यो दक्षिण कोरियाको स्वास्थ्य सेवा क्षेत्रमा सामाजिक बीमा प्रणालीको सफलताको प्रतीक बनेको छ।

















