काठमाडौं । हरेक २४ घन्टामा विश्वभर नयाँ ८९ जना व्यक्ति सुपर रिच (अतिधनी) क्लबमा सामेल भइरहेका छन्।
सम्पत्ति ३ करोड डलरभन्दा बढी हुने व्यक्तिलाई सुपर रिच क्लबमा सामेल गरिन्छ। त्यस्ता अतिधनीको संख्या विगत ५ वर्षमा १ लाख ६२ हजार १९१ जनाले बढेको छ।
नाइट फ्रयांकको वेल्थ प्रतिवेदन २०२६ अनुसार यो संख्या सन् २०२१ मा ५ लाख ५१ हजार ४३५ थियो। जुन सन् २०२६ सम्ममा बढेर ७ लाख १३ हजार ६२६ पुगेको छ।
प्रतिवेदनअनुसार इन्डोनेसियाले आगामी ८ वर्षमा धनी व्यक्तिहरुको संख्यामा सबैभन्दा बढी ८२ प्रतिशको तवृद्धि देख्नेछ। साउदी अरेबिया र पोल्यान्डले यो वृद्धि ६३% मा देख्ने अनुमान गरिएको छ। भियतनाममा पनि ५९ प्रतिशतको वृद्धिका साथ नयाँ सम्पत्ति केन्द्रहरु देखा पर्दैछन्।
छिमेकी भारतमा पनि यो तिस्बर उत्साहजनक छ। यस्ता अतिधनीको संख्या सन् २०२१ मा लगभग १२ हजारबाट बढेर सन् २०२६ मा १९ हजार ८७७ पुगेको छ। जुन ६३ प्रतिशतले बढी हो। यो संख्या २०३१ सम्ममा थप २७ प्रतिशतले बढेर २५ हजार २१७ पुग्ने हुने अनुमान गरिएको छ। भारत हाल २०७ अर्बपतिका साथ विश्वमा सँग तेस्रो स्थानमा छ।
विश्वका अतिधनीहरुमा अमेरिकाको हिस्सा सन् २०२१ मा ३३ प्रतिशतबाट बढेर २०२६ मा ३५ प्रतिशत पुगेको छ। यो हिस्सा २०३१ सम्ममा ४१ प्रतिशत पुग्ने अनुमान गरिएको छ। पछिल्ला ४ वर्षमा सिर्जना गरिएका सबै नयाँ अतिधनीमध्ये ४१ प्रतिशत अमेरिकीमात्र हुन्।
विश्वमा ३ हजार ११० अर्बपति छन्। एसिया प्रशान्त क्षेत्र १ हजार ११६ अर्बपतिका पहिलो स्थानमा छ। यो क्षेत्रले उत्तर अमेरिकालाई उछिनेको छ। त्यहाँँ ९६५ अर्बपति छन्।
आगामी ५ वर्षमा अर्बपतिको संख्यामा साउदी अरेबियाले सबैभन्दा छिटो १८३ प्रतिशतको वृद्धि देख्नेछ। त्यसपछि पोल्यान्ड १२३ प्रतिशत र स्विडेन ८१ प्रतिशत बढोत्तरी देख्नेछ। –एजेन्सी












