काठमाडौं । विश्वका २१ वटा मुलुकको अर्थतन्त्र खर्ब डलर माथि रहेको छ। व्यक्तिमा भने पहिलो खर्बपति बन्नेतर्फ उन्मुख छन्, एलन मस्क।
विश्वकै धनीव्यक्ति मस्कको रकेट र स्याटेलाइट कम्पनी स्पेसएक्स अमेरिकी स्टक मार्केटमा सूचीबद्ध गर्ने तयारीमा छ। जुन वाल स्ट्रिट इतिहासको सबैभन्दा ठूलो आइपीओ हुन सक्छ।
स्पेसएक्सको सूचीकरणपछि मस्कको कुल सम्पत्ति १ खर्ब डलर नाघ्न सक्छ। फोब्र्स अरबपतिहरुको सूचीअनुसार मस्क हाल ८३९ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वको सबैभन्दा धनी व्यक्ति हुन्।
स्पेसएक्सको मूल्यांकन १.२५ खर्ब डलर रहेको अनुमान गरिएको छ। यो मूल्यांकनले स्पेसएक्समा मस्कको बहुमत हिस्सेदारी ६०० अर्ब डलरभन्दा बढी हुन सक्छ। उनको हालको सम्पत्ति र यो सूचीकरणसँगै मस्कको कुल सम्पत्ति १ खर्ब डलर नाघ्छ।
विद्युतीय सवारी कम्पनी टेस्लाका सीईओसमेत रहेका मस्क गत वर्ष ५०० अर्ब डलरको कुल सम्पत्ति नाघ्ने विश्वको पहिलो व्यक्ति बनेका थिए।
खर्ब डलर माथिका अर्थतन्त्रहरु
हाल विश्वमा खर्ब डलर माथिका अर्थतन्त्रहरु २१ वटा रहेका छन्। खर्ब डलर माथिका अर्थतन्त्रको सूचीको शीर्ष स्थानमा अमेरिका रहेको छ भने पुच्छारमा पोल्यान्ड रहेको छ।
अमेरिकाको अर्थतन्त्र ३२.३८ खर्ब डलर रहेको छ भने चीनको २०.८५ खर्ब डलर, जर्मनीको ५.४५ खर्ब डलर, जापानको ४.३८ खर्ब डलर र बेलायतको ४.३६ खर्ब डलर रहेको छ।
यसैगरी खर्ब डलर माथिको अर्थतन्त्रहरुमा भारत, फ्रान्स, इटाली, रुस, ब्राजिल, क्यानडा, अस्ट्रेलिया, मेक्सिको, स्पेन, दक्षिण कोरिया, टर्की, इन्डोनेसिया, नेदरल्यान्ड्स, साउदी अरब, स्विट्जल्यान्ड र पोल्यान्ड रहेका छन्।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का अनुसार विश्वका २१८ वटा देशमध्ये १९७ वटा देशको अर्थतन्त्र खर्ब डलरभन्दा तल रहेको छ। यस हिसाबले ती १९७ देशको अर्थतन्त्रभन्दा मस्कको सम्पत्ति खर्ब डलरमाथि पुग्ने देखिएको छ। –एजेन्सीको सहयोगमा












