काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डका बारेमा फेरि एकपटक प्रमुख बयान दिएका छन्। उनले भने, ‘डेनमार्कले जे गर्न असफल भएको छ, अब त्यो गरिनेछ।’
ट्रम्पले सोमबार ट्रुथ सोसलमा लेखेका छन्, ‘नेटोले विगत २० वर्षदेखि डेनमार्कलाई भन्दै आएको छ, ‘तिमीले ग्रिनल्यान्डबाट रुसी खतरा हटाउनुपर्छ।’ दुर्भाग्यवश डेनमार्कले यस दिशामा केही गर्न असफल भएको छ। अब समय आएको छ र त्यो गरिनेछ।’
ट्रम्पको यो बयान यस्तो समयमा आएको छ, जब केही युरोपेली देशहरुले ग्रिनल्यान्डलाई संयुक्त राज्य अमेरिकामा गाभ्ने ट्रम्पको प्रस्तावको विरोध गरेका छन्। यसअघि ट्रम्पले ग्रिनल्यान्डलाई समर्थन गर्ने ८ युरोपेली देशमाथि १० प्रतिशत ट्यारिफ लगाउनेबारेमा पनि कुरा गरेका थिए।
डेनिस प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले आइतबार भनेका थिए, ‘युरोपलाई ब्ल्याकमेल गर्न सकिँदैन।’
अमेरिकी राष्ट्रपतिको तर्क छ कि यदि ग्रिनल्यान्डलाई अमेरिकामा गाभिएन भने रुस वा चीनले कब्जा गर्नेछ। ग्रिनल्यान्ड डेनमार्कको अर्धस्वायत्त टापु हो। डेनमार्क र केही युरोपेली देशले ट्रम्पको प्रस्तावको विरोध गरेका छन्।












