काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा ठूलो क्षति पुगेको रसुवामा सञ्चार सेवालाई निरन्तरता दिन डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र युटेलस्याट वनवेबको सहकार्यमा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराइएको छ।
गत भाद्र १० गते आएको बाढीका कारण प्रभावित बनेका क्षेत्रहरूमा सञ्चार तथा सूचना आदान(प्रदानलाई सुचारु राख्न डिशहोमले यो विशेष पहल अघि बढाएको हो।
नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति तथा समन्वयमा डिशहोमले युटेलस्याटसँगको सहकार्यमा बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा निःशुल्क वनवेब स्याटेलाइट इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो, जसलाई २०८३ भाद्र २० देखि प्राथमिकताका आधारमा उपलब्ध गराउन थालिएको छ।
प्राकृतिक विपद्का समयमा भरपर्दो सञ्चार सेवा उद्धार, राहत तथा समन्वयका लागि अत्यावश्यक हुने भएकाले हाल प्रभावित क्षेत्रमा रहेका सरकारी कार्यालय, सुरक्षा निकाय, उद्धार तथा राहत शिविर र महत्वपूर्ण समन्वय केन्द्रहरूमा यो सेवा उपलब्ध गराइएको छ।
युटेलस्याट वनवेबको लो अर्थ अर्बिट स्याटेलाइट प्रविधिमार्फत उपलब्ध गराइएको यो वैकल्पिक कनेक्टिभिटीले क्षतिग्रस्त स्थलीय पूर्वाधारको विकल्पका रूपमा काम गर्नेछ। यसबाट स्थानीय प्रशासन, उद्धारकर्मी तथा मानवीय सहायतामा संलग्न सरोकारवालाहरूबीच वास्तविक समयमा समन्वय गर्न र डेटा प्रवाहलाई निरन्तरता दिन ठूलो सहयोग पुग्नेछ।
विपद् व्यवस्थापन तथा पुनःस्थापनाको यस कठिन परिस्थितिमा सरकारी निकाय, सुरक्षाकर्मी र प्रभावित समुदायलाई आवश्यक सञ्चार सुविधा उपलब्ध गराउन डिशहोम प्रतिबद्ध रहेको जनाएको छ। दूरसञ्चार पूर्वाधार पूर्ण रूपमा मर्मत तथा पुनःस्थापना नभएसम्म आवश्यकताका आधारमा उच्च प्राथमिकतामा रहेका थप स्थानहरूमा यो सेवा विस्तार गर्दै लगिनेछ।
यस पहलमार्फत आपत्कालीन सञ्चार, उद्धार तथा राहत कार्य र समुदायको आपत्कालीन प्रतिरोधात्मक क्षमता सुदृढ गर्न योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।












