काठमाडौं । नेपालमा मोबइल बैंकिङ प्रयोगकर्ताको २ करोड ७० लाख नाघेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैतसम्मको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार चैतसम्म मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ७० लाख १२ हजार २ पुगेको छ। गत असार मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ४६ लाख ४८ हजार ८४६ थियो। नौ महिनामा ९.५८ प्रतिशत मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन्।
चालु आर्थिक वर्षको चैतसम्म मोबाइल बैंकिङबाट ४ खर्ब ४० अर्ब ४५ करोड रुपैयाँबराबरको कारोबार भएको छ। गत असारसम्म मोबाइल बैंकिङबाट ३ खर्ब ७३ अर्ब ९७ करोड रुपैयाँबराबरको कारोबार भएको थियो। यसले डिजिटल माध्यमबाट हुने कारोबार उल्लेख्य वृद्धि भएको देखाउँछ।
चालु आर्थिक वर्षको चैतसम्म वालेट प्रयोगकर्ताको संख्या २ करोड ६३ लाख ७ हजार पुगेको छ। गत असारसम्म यो संख्या २ करोड ३४ लाख ६१ हजार थियो।
वालेटको प्रयोग गरी चैतसम्म ४३ अर्ब ९१ करोड रुपैयाँको भुक्तानी भएको छ। गत असार मसान्तसम्म वालेटबाट ३८ अर्ब १४ करोड रुपैयाँ भुक्तानी भएको थियो।

















