IME Life New
GBIME

आईएनजीओ छाडेर बीमामा होमिएका ध्वज अहिले सीबीओ, अभिकर्ता बनेको एक महिनामै घडेरी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । केही गर्छु भन्ने चाहना बोकेका मानिस एक दिन अवश्य पनि गन्तव्यमा पुग्न सक्छ। असम्भव भन्ने संसारमा केही पनि छैन। जुन चिज गर्नका लागि पनि साहस, आँट, हिम्मत र चाहना हुनुपर्छ। यी चिजलाई आत्मासाथ गरेर हिँड्यो भने अवश्य पनि हरेक कुरा सम्भव छ। यात्रामा केही असहजता र चुनौती त पक्कै पनि आउँछन् तर सपना देख्यो भने पूरा हुन्छ। भनिन्छ नि–‘जहाँ इच्छा, त्यहाँ नै उपाय।’ हो, यस्तै सोचका धनी व्यक्ति हुन्, ध्वजबहादुर खड्का। उनी असम्भव कामलाई पनि सही तरिकाले गर्न सक्यो भने चुनौतीकै बाबजुद पनि सम्भव हुन्छ भन्ने सिद्धान्त बोकेका व्यक्ति हुन्।

२०२६ सालमा अछामको साँफेबगर नगरपालिका–१४ पातलकोटमा जन्मिएका ध्वजको हाल बसोबास भने कोहलपुर नगरपालिकामा छ। अछामबाट कोहलपुर आएको २८ वर्ष भइसकेको उनी बताउँछन्।

Crest

हाल ध्वज सिटिजन लाइफ इन्स्योरेन्समा चिफ बिजनेस अफिसर (सीबीओ)को भूमिकामा छन्। ध्वजले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको आधा भागको जिम्मेवारी सम्हालेका छन्। उनले आफ्नो प्रदेशअन्तर्गतका शाखाका टिम व्यवस्थापन, अभिकर्ता व्यवस्थापन, तालिम, कम्पनीको नीति नियम लागू गर्ने, गराउने र योजना बनाएर काम गर्ने गराउनेलगायतका जिम्मेवारी पूरा गर्दै आइरहेका छन्। ध्वज आफ्नो जिम्मेवारीमात्रै होइन बीमा शिक्षा बाँड्न पनि उत्तिकै खटिने गर्छन्।

ध्वजको बाल्यकाल सामान्य रुपमा बित्यो। ध्वज सानैबाट ठूला सपना देख्ने, आफूले चाहेको कुरा हुनैपर्ने, साथीभाइसँग खेल्दा टिमको लिडर हुनुपर्ने जिद्दी स्वभावका थिए। उनले कक्षा ४ सम्म आफ्नो जन्मथलो अछामको साँफेबगरमा अध्ययन गरे। त्यसपछि उनले मुम्बईबाट स्नाकोत्तरसम्मको अध्ययन पूरा गरे। बुवाको जागिर मुम्बईमा भएका कारण पनि उनले उतैबाट अध्ययन गर्ने मौका पाए। मुम्बई गएपछि उनको ठूलो दुर्घटना भयो। त्यो दुर्घटनामा परिवारको ठूलो लगानीबाट उनले फेरि नयाँ जीवन पाए। अनेकन दुःख र संघर्ष गर्दै उनले आफ्नो अध्ययनलाई भने निरन्तरता दिए।

एसएलसी दिएर प्लसटु गर्दैगर्दा ध्वजले बुवा गुमाउनुपर्यो। घरको खम्बा अभिभावक गुमाउनुपर्दा ध्वजलाई निक्कै गाह्रो भयो। बुवाको मृत्युपछि उनले आफैँ जागिर गर्दै अध्ययन गर्न थाले। उनले सुरुमा क्यानोन कम्पनीमा सेल्सको काम सुरु गरे। पढाइ अनि कामलाई सम्हाल्न ध्वजलाई गाह्रो नभएको होइन तर पनि उनले सम्हाल्दै अगाडि बढे।

ध्वजले भारतका धेरै ठाउँमा सेल्सकै कामले घुम्ने मौका पाए। लामो समय बाहिरको बसाइपछि उनी नेपाल फर्किए। नेपाल आएपछि ध्वजले शिक्षक पेसा अपनाए। तर, ध्वजको रुचि भने सेल्समै थियो। आफ्नो रुचिभन्दा फरक पेसा अपनाउन गाह्रो नै हुन्छ। शिक्षकका रुपमा ध्वजले करिब ६–७ महिनामात्रै काम गरे।

त्यसपछि युनाइटेड मिसन टु नेपाल भन्ने आईएनजीओमा जागिर खुलेको खबर ध्वजले सुने। त्यसलगत्तै उनी काठमाडौं आउने तयारी गरे। बर्खायाम, गाडी नचल्ने, घरबाट निस्केको ४ दिनको संघर्षपछि उनी काठमाडौं आएर आईएनजीओमा अन्तर्वार्ता दिएर नाम निकाले। त्यस कम्पनीमा उनले ७ वर्ष काम गरे। आईएनजीओमा पनि उनले सधैँ मेहनत र संघर्ष गरेर राम्रो कामको प्रदर्शन गरे।

आईएनजीओमा काम गर्दागर्दै एकजना चिनेको साथीले ध्वजलाई ‘तपाइँ बीमा एजेन्ट बन्नुस्। राम्रो कमाइ हुन्छ। इन्स्योरेन्स क्षेत्र राम्रो पनि छ। समय मिलेको बेला काम गर्न पनि सकिने, सबै हिसाबले बीमा क्षेत्र उत्तम छ’ भने। साथीले भन्नुभन्दा अगाडि नै ध्वजलाई बीमाका बारेमा सामान्य ज्ञान थियो। साथीको त्यो कुरालाई ध्वजले स्वीकार गरेर नेपाल लाइफमा अभिकर्ता तालिम लिए। तालिम लिएपछि उनलाई अभिकर्ता पेसाप्रति अझ रुचि बढ्यो र २०५८ सालमा लाइसेन्स लिए नेपाल लाइफबाट काम सुरु गरे।

लाइसेन्स लिएको छोटो समयमै ध्वजले राम्रो व्यापार गरे। अभिकर्ता बनेको एक महिनामै उनले घडेरी किन्न सफल भए। उनी छोटो समयमै नेपालको टप अभिकर्ताका रुपमा परिचित बने।

नेपाल लाइफमा अभिकर्ताको भूमिकामा रही राम्रो कार्य गर्दै गएपछि ध्वज ब्रान्च म्यानेजर बन्न सफल भए। उनीसहित कम्पनीको उच्च व्यवस्थापन टिम डडेल्धुरा शाखा भिजिटका लागि गएका थिए। त्यो समयमा बीमा कम्पनीको रिजनल अफिस भन्ने थिएन। जाँदा–जाँदै बाटोमा ध्वजले रिजनल कन्सेप्ट बनाए। बीमा कम्पनीहरुमा रिजनल कन्सेप्ट भयो भने अपेक्षित व्यापार गर्न सकिन्छ। बीमा पहुँच बढ्छ, बीमा साक्षरताका हिसाबले पनि राम्रो हुन्छ भन्ने कुरा गर्दै आफ्नो गन्तव्यमा पुगे।

त्यहाँ बस्दा पनि उनीहरुले रिजनल कन्सेप्टको खाका तयार पारे। त्यसको एक वर्षपछि ध्वज नेपाल लाइफमा नेपालकै पहिलो रिजनल म्यानेजर बने। त्यो समयमा प्रदेश थिएन। उनले ४ वटा अञ्चल हेर्ने गरी रिजनल म्यानेजरको भूमिका निभाए। एजेन्टबाट नेपाल लाइफमा प्रवेश गरेका ध्वज ब्रान्च म्यानेजर हुँदै रिजनल म्यानेजरसम्म भए। उनले नेपाल लाइफमा २०५८ सालबाट २०७३ सालसम्म काम गरे।

ध्वज मेहनती भएकै कारण आज बीमा क्षेत्रमा सफल छन्। मेहनत र लगनशीलतालाई आफ्नो जीवनको एउटा महत्वपूर्ण पाटो सम्झेर अगाडि बढिरहे। ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैँ सानैबाट मेहनत गर्ने र ठूला सपना बोकेका ध्वज आज सफल छन्। जीवनमा अनेकौँ बाधा र संघर्षलाई पार गर्दै यहाँसम्म आइपुगेका ध्वज भन्छन्, ‘सफल हुनका लागि सही बाटो रोजेर, बाधा, अड्चन र अवरोध सहनुपर्छ। एक दिन अवश्य गन्तव्यमा पुगिन्छ।’

२०७४ सालमा नेपाली बीमा बजारमा एकैपटक १० वटा जीवन बीमा कम्पनीले लाइसेन्स पाएका थिए। बीमा क्षेत्रमा लामो अनुभव बटुलेका ध्वजले भने सिटिजन लाइफ राजे। उनी सिटिजन लाइफ आउने तयारी गर्दैगर्दादेखि कम्पनीसँग जोडिएका थिए। ध्वज सिटिजन लाइफमा सेल्सको पहिलो कर्मचारीका रुपमा इन्ट्री गरे। सानैबाट सेल्समा रुचि भएका ध्वज सिटिजनमा चिफ बिजनेस अफिसरका रुपमा प्रवेश गरी काम गर्न थाले।

धेरै नयाँ कम्पनी बजारमा आउँदा सिटिजन लाइफ नै रोज्नुको कारण के हो भन्ने जिज्ञासामा ध्वजले भने, ‘नेपालीको लगानी, दक्ष लगानीकर्ताको जमात, अनुभवी व्यवस्थापन टिम र नयाँ जोश र जाँगर बोकेका योङ टिम, बीमा प्रडक्टलगायतका यावत कुराले मलाई यस कम्पनीमा तान्यो। कम्पनी खुल्दा जे सोचेर कम्पनीमा छिरेको थिएँ। आजसम्म पनि टिमको त्यो ऊर्जा, काम गर्ने तरिका, कर्मचारी टिम, नेतृत्वका कुरा सबैमा इनर्जी घटेको छैन। अहिले पनि हामीले कसरी हुन्छ बजारमा पुराना कम्पनीसँग स्वस्थ प्रतिपर्धामा नै छौँ।’

सिटिजन लाइफले आफ्नो टिमलाई क्षमता अभिवृद्धि तालिममा धेरै फोकस गर्ने गरेको ध्वज बताउँछन्। अभिकर्ता र कर्मचारी राम्रो शिक्षित भए भने सर्वसाधारणमा बीमा बुझाइ राम्रो हुन्छ भन्ने उद्देश्यले बीमा तालिमसँगै एक्स्ट्रनल तालिम पनि राखेको छ। कर्मचारीलाई कम्पनीमात्रै नभएर बाहिरी ज्ञान दिने उद्देश्यले सिटिजन लाइफले सिटिजन कलेज सञ्चालनमा ल्याएर कर्मचारीलाई बैंकिङ, डिजिटललगायतका धेरै विषयमा तालिम दिने गरेको छ।

ध्वज बीमा क्षेत्रमा प्रवेश गर्दा र अहिलेको समयमा केही परिवर्तन भएको अनुभव सुनाउँछन्। तर, अहिले पनि शिक्षित व्यक्तिले पनि बीमा बुझ्न नखोजेको उनको भनाइ छ। ‘पहिला म बीमा क्षेत्रमा प्रवेश गरेको समयमा बीमाप्रति मानिसको बुझाइ नकारात्मक थियो’, उनी भन्छन्, ‘अहिले बीमा पहुँचमा विस्तार आएको छ तर अझै पनि बीमा बुझ्न नखोज्ने धेरै छन्।’

यद्यपि, बीमा बुझाउन सक्यो भने बीमा सबैले गर्ने ध्वजको विश्वास छ। ‘अभिकर्ता कम्पनीका प्रतिनिधिपात्र हुन्’, उनले भने, ‘उनीहरु बीमा शिक्षा, बीमा सचेतना लिएर जसरी सर्वसाधारणसामु प्रस्तुत हुन्छन्। आममानिसले त्यसैगरी बुझ्ने हुन्। राम्रो शिक्षा दिए राम्रैसँग बीमा बुझ्छन्। अभिकर्ता नै कम्पनीका मुख्य पात्र भएकाले अभिकर्तालाई पहिला शिक्षित बनाएर अनि राम्रो ज्ञान दिएरमात्रै बजारमा पठाउनुपर्छ।’

लामो समय बीमा क्षेत्रमा काम गरेका ध्वजको बुझाइमा बीमा क्षेत्रमा धेरै थरिका अभिकर्ता हुने गरेका छन्। ‘कुनै अभिकर्ता आम्दानीका लागि बीमा क्षेत्रमा प्रवेश गरेका हुन्छन्’, उनले भने, ‘कुनै–कुनै अभिकर्तामा पैसा हुने तर मानसम्मानका लागि बीमा क्षेत्रमा भित्रिने गरेको हुन्छन्। कुनै अभिकर्ता प्रोफेसन्नली काम गर्ने दीर्घकालीन करिअर बनाउने खालका हुन्छन्।’

बीमा क्षेत्रमा जस्तोसुकै प्रवृत्तिका अभिकर्ता भित्रिए पनि कम्पनीले उनीहरुलाई बीमासम्बन्धी ज्ञान दिएर, बीमा बुझाएर दीर्घकालीन टिक्ने गरी अवसर सिर्जना गर्यो भने जस्तोसुकै अभिकर्ता पनि दीर्घकालीन हुने उनको भनाइ छ। ‘बीमा सबैका लागि आधारभूत आवश्यकता हो। जसरी गास, बाँस र कपासको आवश्यकता छ, त्यसैगरी बीमा पनि आवश्यक छ’, उनले भने, ‘बीमा उच्च आम्दानी हुनेका लागिभन्दा पनि थोरै आम्दानी हुने अहिले काम गरेर बेलुका गुजारा चलाउनेका लागि धेरै महत्वपूर्ण हुन्छ। किनकि उच्च आम्दानी हुनेले त भोलि आइपरेको जोखिम सजिलै पार गर्न सक्छ। तर, बिहान काम गरेर बेलुका खानेहरुले जोखिम व्यहोर्न सक्दैनन्। हो, तिनीहरुले बीमा गरे भने भोलि जोखिम पर्दा बीमा कम्पनीले राहात दिने गर्छ।’

आफ्नो जिम्मेवारी सम्हाल्न कत्तिको गाह्रो छ भनेर इन्स्योरेन्स खबरले राखेको जिज्ञासामा ध्वजले धेरै चुनौती रहेको बताए। ‘तर काममा टाउको दुःखाएर वा अल्छी मानेर गर्यो भने लक्ष्य हासिल हुँदैन । कामलाई जति रमाएर खुसी भएर गरिन्छ। त्यति नै सफलता पाइन्छ’, उनले थपे, ‘शाखाको व्यवस्थापन, टार्गेट मिट, व्यवस्थापन टिम, अभिकर्तालगायत विभिन्न कामको जिम्मेवारी नै आफ्नो थाप्लोमा हुन्छ। आएका सबै चुनौती र बाधालाई सम्हालेर अगाडि बढ्यो भने चुनौतीलाई पैतालामुनि हालेर अगाडि बढ्न सकिन्छ।’

बीमा बजारमा सिटिजन लाइफले आफ्नो नाम कमाएर ग्राहकमाझ सरल र सहज सेवा दिइरहेको ध्वज बताउँछन्। ‘ आगामी दिनमा अझै परिष्कृत भएर आउनेछौँ’, उनले भने, ग्राहकलाई ढुक्क भएर सेवा लिनु आग्रह गर्छु। अन्य कम्पनीभन्दा सेवाको हिसाबमा उत्कृष्ट रहेको छ। अहिले सिटिजन लाइफ डिजिटल पेमेन्टमा पनि अगाडि नै छ। विस्तारै हामी पेपरलेस नै बनाउँछौँ।’

ध्वजका अनुसार अहिले अधिकांश पेमेन्ट डिजिटल माध्यमबाट नै हुन्छ। ‘जसरी ग्राहक वा बीमितलाई सजिलो हुन्छ, त्यही अनुसार कम्पनी अगाडी बढेको छ ’, उनले भने।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

17%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS