काठमाडौं । दामोदरी पौडेलले जीवन बीमा क्षेत्रमा एक साहसी महिलाका रुपमा आफ्नो परिचय बनाएकी छन्। उनी पेसाले अभिकर्ता हुन्। हाल उनी सिटिजन लाइफको कावासोती शाखामा एजेन्सी म्यानेजर छिन्। दामोदरी बीमामा राम्रो कार्य प्रदर्शन गर्दै आइरहेका महिलामध्येकी एक हुन्। उनी बीमा गर्न टाढा–टाढा नगए पनि आफ्नो गाउँदेखि नारायणघाटसम्म पुग्ने गर्छिन्। आफूसँग जोडिएका र चिनजान भएका व्यक्तिमार्फत बीमा गर्नुका hhसाथै बीमा सचेतना दिनकै लागि भए पनि घुम्ने गरेकी छन्। आफू गएको सबै ठाउँमा बीमा गर्छु भन्ने लक्ष्यका साथ पुग्ने गरे पनि सबै ठाउँबाट बीमा नआउने गरेको उनले बताइन्। ‘बीमा गर्नुमात्रै पनि ठूलो होइन’, उनले भनिन्, ‘बीमा बुझाइ, सिकाइ र सचेतना दिनु पनि ठूलो हो।’
गौँडाकोट नगरपालिका–१२ हर्कपुरमा २०३३ सालमा जन्मिएकी दामोदरीको बाल्यकाल सुखमय नै रह्यो। उनका बुवा नारायणघाटमा गल्ला (धान, मकै, गहुँलगायतका खाद्यान्न) व्यापारी भएका कारण पनि उनीहरुलाई बाल्यकालमा केही कुराको आवश्यक भएको महसुन भएन।
दामोदरीले सानोमा राम्रो शिक्षादीक्षा पाइन्। उनले एसएलसीसम्मको अध्ययन गरेकी छन्। दामोदरीको २०५० सालमा १७ वर्षकै कलिलो उमेरमा विवाह भयो। विवाहपछि सामान्य जीवनशैली बिताउँदै आएकी दामोदरीको बालबच्चा भए। त्यसपछि बालबच्चा हुर्काउँदै सिलाइ–कटाइको काम गर्दै आइरहेकी थिइन्। उनले २६ वर्ष आफ्नो सिलाइ–कटाइ पसल सञ्चालन गरिन्। उनले सिलाइ–कटाइको काममात्रै होइन तालिम पनि दिने गरेकी थिइन्। यही तालिमबाट उनले धेरै मानिसलाई स्वरोजगार बन्ने मौका दिइन्।
२०६४ सालमा वैदेशिक रोजगारका लागि विदेशिएका श्रीमानको १४ महिनामा नै मृत्यु भयो। त्यसपछि दामोदरीको जीवनमा ठूलो बज्रपात आइलाग्यो। अब दुई सन्तान र परिवारको सबै जिम्मेवारी उनको काँधमा आयो। आफू पनि काम गर्दै अरुलाई पनि रोजगारी दिँदै आइरहेकी दामोदरीलाई योभन्दा ठूलो चोट के होला र ?
श्रीमान गुमाउनुपरेको वियोगमा छट्पटिएकी दामोदरी त्यसपछि सन्तानका लागि भए पनि केही गर्नुपर्छ भन्ने सोचले अगाडि बढ्ने हिम्मत गरिन्। आँट नगर्नु पनि कसरी उनीसँग दुई छोरा–छोरीको जिम्मेवारी अनि श्रीमानलाई विदेश पठाएको सिंगो ऋणबाहेक केही थिएन। त्यसपछि दामोदरीले २६ वर्ष चलाएको सिलाइ–कटाइ पसलबाट आफ्नो जीवन चलाउन सहज नभएर टेलरसँगै राखेर पूजा सामग्री तथा भाँडा पसल भन्ने नयाँ पसल खोलिन्। त्यस पसलमा पनि उनले कर्मचारी राखेर राम्रो व्यापार गर्दै आइन्। त्यो पसल ११ वर्ष चलाइन्।
छोरा–छोरी हुर्किंदै गए। अब दामोदरीलाई पनि केही सहज दिन आउँछ र छोरा–छोरीले केही गर्छन् भन्ने आशा थियो। दामोदरीको छोरा विदेश जाने कुरा भयो र उनलाई विदेश पठाउन उनीहरु नारायणघाट गएका थिए। ‘जीवन भावीको खेल नै रहेछ, म माथि एकपछि अर्को बज्रपात थपियो’, उनले भनिन्, ‘मेरो पनि सुखका दिन आउँछ भन्ने आशमा बसेको थिए। छोरा विदेश जाने प्रोसेस भइरहेको थियो। हामी त्यही कामका लागि नाराणघाट गएका थियौँ। छोराको अचानक दुर्घटना भयो। छोराको उपचारका लागि काठमाडौं आए। खर्च पनि धेरै भयो तर बाबुको एउटा खुट्टा भने काट्न पर्ने भयो। मलाई एउटा पीडा श्रीमान नहुन त छँदै नै थियो। त्यसमाथि पनि छोराको खुट्टा गुमाउनुपर्यो। त्यसपछि छोरालाई राम्रो हुन्छ भने खुट्टा गुमोस् भनेर डाक्टरसँग त्यही सल्लाह भयो र अन्नतः उपचारको लामो समयपछि छोरालाई घर लगेँ। तर, त्यही कारण मेरो व्यवसायमा पनि असर पर्यो। लामो समय बन्द गरेको पसलमा धेरै भाडा तिर्न नसकेर सामानहरु सबै बेचेर पसल छोडेँ। त्यसपछि भाँडा पसलमात्रै सञ्चालन गरेँ।’
दामोदरी २०६४ सालदेखि नेपाल लाइफबाट इन्स्योरेन्स क्षेत्रमा प्रवेश गरेकी थिइन्। दामोदरीले साथी कमला भण्डारीसँग बीमाबारे जानकारी लिएर अभिकर्ता लाइसेन्स लिएकी थिइन्। उनले नेपाल लाइफमा समय भएको बेला मात्रै काम गर्ने गरेकी थिइन्। त्यस कम्पनीमा उनले ६–७ जनाको मात्रै बीमा गराएकी थिइन्। पछि उनको साथी भण्डारीको दुर्घटनामा परी मृत्यु भएपछि दामोदरीलाई नेपाल लाइफमा जान मन लागेन र काम गर्न पनि मन मारिन्।
त्यसपछि आफ्नै भाँडा पसल व्यवसायमा रमाउँदै आइरहेकी दामोदरीलाई फेरि उनीसँगै पढेकी साथी पार्वती आचार्यले बीमा क्षेत्रमा आउन आग्रह गरिन्। ‘होस् अब म गर्दिनँ’ भनेर मन मारेर बसेकी दामोदरीलाई साथी पार्वतीले फेरि बीमा क्षेत्रमै अगाडि बढ्न प्रेरित गरिन्। पार्वतीले दामोदरीको घरमै आएर भनिन्, ‘बीमा क्षेत्रमा राम्रो छ। अभिकर्ता बनेर काम गर्दा आफूलाई पनि धेरै राम्रो हुने र बीमा गर्नेको पनि भविष्य सुनिश्चत हुने। समाज सेवाको पाटोबाट आफू आर्थिक रुपमा सबल भइने पो हो। आनुहोस् तपाइँका लागि त झन् उत्तम पेसा हुन्छ।’
दामोदरीलाई साथी पार्वती र कावासोतीका ब्रान्च म्यानेजर घरमा आएर बीमाबारे बुझाउन थाले। कम्पनीका बारेमा पोलिसी, बोनस र प्रडक्टका विशेषताका बारेमा उनीहरुले दामोदरीलाई बुझाए। त्यसपछि सिटिजन लाइफको सबै कुरा मन परेर दामोदरीले ‘हुन्छ’ भन्ने प्रतिक्रिया दिइन्। त्यसपछि उनले २०७५ सालमा लाइसेन्स लिई काम गर्न थालिन्।
पहिलो बीमा दामोदरीले चिनेको भाइको ४० लाख रुपैयाँ बीमांकको गराइन्। त्यो बीमा बुझाउन जाँदा चाहिँ उनले ब्रान्च म्यानेजरलाई लिएर गएकी थिइन्। किनकि भर्खर सिटिजन लाइफमा आएकी दामोदरीलाई सहयोगको आवश्यक थियो। त्यसपछिका दिनहरुमा दामोदरीले राम्रो व्यापार प्रदर्शन गरिन्। आजभन्दा भोलि अनि भोलिभन्दा पर्सि उनले बीमा बुझाउँदै मेहनत गर्दै गइन्। मेहनत गरेअनुसार प्रतिफल पनि पाउँदै गएपछि उनमा झन् हौसला बढ्दै गयो र अब यो पेसामा केही गर्न सक्छु भन्ने लाग्यो।
दामोदरीको विचारमा अभिकर्ता धेरै राम्रो पेसा हो। ‘यो पेसामा लागेपछि आर्थिक रुपमा सबल भइन्छ, अरुमा निर्भर हुन नपर्ने भएकाले पनि मलाई यो पेसा धेरै राम्रो लाग्यो’, उनले भनिन्, ‘जति गर्न सक्यो त्यति नै आम्दानी गर्न सकिन्छ। सरकारलाई कर तिरेर गरेको काम धेरै राम्रो हो। विश्वासको बोली बिकाउने पेसा भएकाले राम्रो बोलेर, कम्पनीमा भएको सत्य कुरालाई बिकाएर पोलिसी बेच्ने पेसा भएकाले राम्रो छ। महिलाका लागि धेरै राम्रो पेसा हो। घर, परिवार, खेतीपाती, बालबच्चा सबैलाई समय दिएर गर्न सकिने भएकाले महिलाका लागि उत्कृष्ट छ।’
अभिकर्ता पेसामै लागेर दामोदरीले आफ्नो घर बनाएकी छन्। ‘मेरो परिवारको दैनिकी चलाएको छु। आफ्नो व्यापार सञ्चालन गर्दागर्दै पनि मैले बीमा अभिकर्ता पेसाबाट राम्रो आम्दानी गरिरहेको छु’, उनले भनिन्, ‘म बीमा गराउन जाँदा पनि बीमाप्रतिको भ्रामक क्रियाकलाप र बुझाइले गर्दा नराम्रो भन्नुहुन्छ तर फेरि उनीहरुलाई राम्रोसँग बीमा यस्तो हो भनेर बुझाउँदा बुझ्नुहुन्छ। बीमाका लागि गएको जुनसुकै ठाउँमा पनि कसरी हुन्छ बीमा सक्दो बुझाएर बीमा गरेर नै आउँछु म। मलाई भाग्यले पनि साथ दिएर होला बीमा क्षेत्रमा प्रवेश गरेपछि मलाई धेरै राम्रो भएको छ।’
बीमा गराएरमात्रै नहुने दामोदरी बताउँछिन्। ‘बीमा गराएपछि समय–समयमा आफ्ना बीमितलाई फलो गरिरहनुपर्छ। प्रिमियम तिर्नका लागि सम्झाउने, गर्यो भने बल्ल बीमा सेरेन्डर पनि हुँदैन’, उनले भनिन्, ‘बीमितका लागि पनि समयमै प्रिमियम तिर्नु राम्रो हुन्छ। त्यसकारण एकपटक बीमा गराएपछि अभिकर्ताले फलो गर्नु चाहिँ पर्छ। ’
दामोदरी बीमा सबैका लागि महत्वपूर्ण रहेको बताउँछिन्। ‘बीमा गरिब र पैसा नहुनेहरुका लागि त अभिभावक नै भएर खडा हुन्छ। स–सानो रकमको बीमाले पनि ठूलो सुरक्षा दिन्छ’, उनले भनिन्, ‘आफू हुँदै र आफूपछि पनि आर्थिक रुपमा आफ्नो सहभागिता जनाइराख्नु बीमा हो। बीमा बचत गर्ने प्रमुख आधार हो। बीमा आममानिसका लागि एकदमै महत्वपूर्ण छ।’
दामोदरीको विचारमा एक सफल बीमा अभिकर्तामा धैर्यता, मेहनती, इमान्दार, सहनशीलता, बीमा बुझाउन सक्ने, नरिसाउनेलगायतका गुण हुनु आवश्यक छ। अभिकर्ता पेसामा आउन चाहनेलाई दामोदरीले भनिन्, ‘पैसा कमाएर आर्थिक रुपमा सबल हुन र समाज सेवा गर्ने भाव छ भने बीमा अभिकर्ता पेसा आउनुहोस्। यो पेसामा राम्रो आम्दानी छ। समाज सेवा गर्ने पेसा पनि हो। अरुका लागि सेवा दिनु नै धर्म हो। अरुको सेवा गर्दा आम्दानी हुने पेसा नै अभिकर्ता पेसामात्रै हो। बिना लगानी मनग्य आम्दानी गर्न सकिने, आफ्नो फुर्सदको समयमा गर्न सकिने भएकाले घरमा नबसी यो पेसा गर्दा धेरै उत्तम हुन्छ।’
दामोदरीले बीमा अभिकर्ता पेसाबाट राम्रो प्रदर्शन गर्दै आइरहेकी छन्। उनी कम्पनीले दिने हरेक टार्गेट मिट गर्न सफल भएकी छन्। उनले हालसम्म डायमन्ड क्लब २ पटक, हिरो अफ द मन्थलगायतका कम्पनीले दिने विभिन्न स्किम पूरा गरेर अवार्ड पाएकी छन्। उनी ३ पटक एमडीआरटीको सदस्य बन्न पनि सफल भइसकेकी छन्।