काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले आफ्नो अनलाइन सेवालाई थप सहज र प्रभावकारी बनाउन ‘कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली’ मा महत्वपूर्ण सुधारहरू गरेको छ।
कार्यालयले सेवाग्राहीका व्यावहारिक तथा प्राविधिक समस्याहरूलाई सम्बोधन गर्न नयाँ सुविधाहरू ‘लागू’ गरिएको जानकारी दिएको छ।
१. प्रतिलिपिको आवेदन स्वतः स्वीकृत हुने: अबदेखि सेवाग्राहीले शेयर लगत र कम्पनी दर्ता प्रमाणपत्र जस्ता कागजातको प्रतिलिपि माग गर्दा प्रणालीबाटै तुरुन्त र स्वतः स्वीकृत हुने व्यवस्था गरिएको छ। लगतको पाना संख्याका आधारमा अनलाइनबाटै तोकिएको शुल्क भुक्तानी गरेपछि सेवाग्राहीले तुरुन्तै कागजात प्राप्त गर्न सक्नेछन्।
२. स्थानीय तहबाटै सनाखत गराउन सकिने:कम्पनी खाताको लागि ई-सेवा सुधार गर्दै अब सनाखत प्रक्रियालाई विकेन्द्रीत गरिएको छ। प्रयोगकर्ताले युजर र पासवर्ड प्राप्त गर्नका लागि कम्पनी रजिष्ट्रारको कार्यालय नै धाउनुपर्ने बाध्यता हटेको छ। अब आफ्नै स्थानीय तहको प्रमुख, उपप्रमुख वा वडा अध्यक्ष समक्ष सनाखत गराई सो कागजात अनलाइनमार्फत अपलोड गरेर निवेदन पेश गर्न सकिनेछ।
३. शेयर खरिद-बिक्रीमा सुधार: धेरै संख्यामा शेयरधनीहरू भएको अवस्थामा शेयर रेन्ज निर्धारण गर्दा कुन शेयरधनीको विवरण भर्न बाँकी छ भन्ने कुरा प्रणालीले प्रष्ट देखाउने गरी सुधार गरिएको छ। यसले शेयर हस्तान्तरणको प्रक्रियालाई थप पारदर्शी र त्रुटीरहित बनाउने अपेक्षा गरिएको छ।
कार्यालयले सेवाग्राही, कर्मचारी र सरोकारवालाहरूबाट प्राप्त सुझावका आधारमा प्रणालीलाई परिमार्जित गरिएको बताएको छ। आवेदन पेश गरेपछि त्यसको विवरण र अध्यावधिकहरु प्रयोगकर्ताको मोबाइल नम्बर र इमेलमा प्राप्त हुने व्यवस्था समेत मिलाइएको रजिष्ट्रार बलराम निराैलाद्वारा जारी सूचनामा उल्लेख छ।












