काठमाडौं । चीनले अमेरिकी विमान कम्पनी बोइङबाट २०० वटा विमान खरिद गर्ने सम्झौताको पुष्टि गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच गत हप्ता बेइजिङमा भेट भएपछि चीनले अमेरिकाबाट विमान खरिद गर्ने घोषणा गरिएको थियो। चीनको वाणिज्य मन्त्रालयले बुधबार भनेको छ, ‘यस सम्झौताअन्तर्गत अमेरिकाले विमानको इन्जिन पार्टपुर्जा र अन्य आवश्यक कम्पोनेन्टको आपूर्तिको ग्यारेन्टी गर्नेछ।’
दुई देशले गत अक्टोबरमा रोक्न सहमत भएको कर युद्धलाई बढाउने दिशामा काम गर्न पनि सहमत भएका छन्। यसका साथै दुवै पक्षले कम्तीमा ३० अर्ब डलर मूल्यका सामानमा कर घटाउने प्रयास गर्नेछन्।
यो घोषणा सी जिनपिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरिरहेको बेला आएको हो। यो बैठक ट्रम्पको चीन भ्रमणको केही दिनपछि आएको हो। ‘हामीले २०० भन्दा बढी बोइङ विमानको सम्झौतासहित धेरै उत्कृष्ट व्यापार सम्झौता गरेका छौँ’, ट्रम्पले गत शुक्रबार चीन प्रस्थान गरेपछि एयर फोर्स वानमा सवार पत्रकारहरुलाई भने।
यसका साथै ७५० वटा विमान खरिद गर्ने वाचा गरिएको छ। जुन अहिलेसम्मकै सबैभन्दा ठूलो अर्डर हुन सक्छ। –एजेन्सी












