काठमाडौं । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध परेको मुद्दालाई आज (चैत ३१ गते) हेर्न नमिल्नेमा राखेको छ।
सर्वोच्चमा आज ओझाविरुद्ध परेको रिटमा पेसी तोकिएको थियो। तर, न्यायाधीश विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलाशले ओझाविरुद्ध परेको मुद्दा हेर्न नमिल्नेमा राखेको हो। अब यो मुद्दाका लागि अर्को पेसी तोकिनेछ।
गत चैत २० गते सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अध्यक्ष ओझाविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। सुवेदीको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्नुका साथै दुवै पक्षलाई छलफलमा डाकेको थियो।
बीमा प्राधिकरणको अध्यक्ष बन्न नक्कली कार्यानुभवको प्रमाणपत्र पेस गरेको भन्दै ओझाविरुद्ध नेसनल लाइफ इन्स्योरेन्स कम्पनीकी अभिकर्तासमेत रहेकी अधिवक्ता इन्दिरा धमलाले गत चैत १७ गते रिट दायर गरेकी थिइन्।