काठमाडौं । बुद्ध एयरले आफ्नो अर्को एउटा जहाजको बिदाइ गरेको छ। पूर्ण क्षमतामा सञ्चालनपछि बुद्ध एयरले कल साइन ९एन–एएजीओ रहेको एटीआर ७२–५०० जहाजलाई औपचारिक रुपमा बिदाइ गरेको हो।
कम्पनीका अनुसार यो जहाजको अधिकतम उडान क्षमता ७२ हजार साइकल (उडान र अवतरण) थियो। बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले यो जहाजको पूर्ण आयु सञ्चालन गर्ने ऐतिहासिक कीर्तिमान कायम गरेको बताए। ‘यसले बुद्ध एयरको बजार विस्तार तथा साख बढाउन महत्वपूर्ण भूमिका खेलेको छ’, उनले भने, ‘नेपालको हवाई यात्रालाई सुगम, कम खर्चिलो र वातावरणमैत्री बनाउन ठूलो योगदान दिएको छ।’
कम्पनीका अनुसार यो जहाज सन् २०१० जुलाईदेखि व्यावसायिक उडान थालेको थियो। अन्तिम उडान सन् २०२६ मार्च ९ मार्च भैरहवा–काठमाडौ भएको थियो। यस अवधिसम्म जहाजले २४ लाख ८२ हजार ७७२ जना यात्रु बोकेको थियो।
बिदाइ कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका जनरल म्यानेजर टेकनाथ सिटौला, एटीआर कम्पनीका सिनियर भाइस प्रेसिडेन्ट स्टेफानो माराज्जनीलगायतको उपस्थिति थियो।
यसअघि बुद्ध एयरले एटीआर–४२ जहाजलाई सन् २०२४ सेप्टेम्बर १० बिदाइ गरेको थियो।












