काठमाडौं । कर्जा प्रवाहले गति लिन नसक्दा बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएको छ। अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गरेर बैंकिङ प्रणालीबाट पैसा तानिरहेको छ।
केन्द्रीय बैंकले आज असार १ गते फेरि बैंकिङ प्रणालीबाट एकैपटक ४० अर्ब रुपैयाँ तान्नका लागि बोलकबोल गर्यो। यो ४२ दिनका लागि रहेको छ।
बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाले भने ६६ अर्ब २५ करोड रुपैयाँको बोलकबोल गरे। जुन राष्ट्र बैंकले तान्न खोजेको रकमभन्दा १.६५ गुणा अर्थात डेढ गुणा बढी हो।
आज २७ वटा बैंक तथा वित्तीय संस्थाले ४३ वटा बोलकबोलबाट उक्त रकमबराबरको आवेदन दिएका हुन्। बोलकबोलमार्फत राष्ट्र बैंकले भने ४० अर्ब रुपैयाँमात्रै खिचेको छ। जसको औसत ब्याजदर २.९ प्रतिशत कायम भएको छ।
अब बैंकले साउन ११ गते आफूले राखेको रकम २.९ प्रतिशत ब्याज थपेर राष्ट्र बैंकबाट फिर्ता पाउनेछन्।

















