काठमाडौं । बैंकहरुमा व्यक्तिगत प्रयोजनका लागि गाडी कर्जा लिनेको माग बढी रहेको देखिएको छ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुनसम्मको तथ्यांकले यस्तो देखाएको हो। यो ८ महिनामा बैंकहरुले १ खर्ब २९ अर्ब ९५ करोड ६१ लाख रुपैयाँ गाडी कर्जा प्रवाह गरेका छन्। जुन गत असार मसान्तसम्मको तुलनामा ४.७ प्रतिशतले बढी हो। गत असार मसान्तसम्म बैंकहरुबाट १ खर्ब २४ अर्ब १० करोड २४ लाख रुपैयाँ गाडी कर्जा प्रवाह भएको थियो।
फागुनसम्म कुल गाडी कर्जामा व्यक्तिगत प्रयोजनका लागि जाने कर्जा १४.८ प्रतिशतले बढ्दा व्यापारिक प्रयोजनका लागि जाने कर्जा ०.४ प्रतिशतले मात्रै बढेको छ। फागुनसम्म व्यक्तिगत प्रयोजनका लागि बैंकहरुबाट ४२ अर्ब ३० करोड ५७ लाख रुपैयाँ र व्यापारिक प्रयोजनका लागि ८७ अर्ब ६५ करोड ४ लाख रुपैयाँ कर्जा भएको देखिन्छ।
गत असार मसान्तसम्म व्यक्तिगत प्रयोजनका लागि बैंकहरुबाट ३६ अर्ब ८४ करोड १३ लाख रुपैयाँ र व्यापारिक प्रयोजनका लागि ८७ अर्ब २६ करोड ११ लाख रुपैयाँ कर्जा भएको थियो।