काठमाडौं । दशैँ-तिहारको बिदालाई थप रमाइलो बनाउन तनहुँको बन्दीपुरमा ‘बन्दीपुर फेस्ट’ आयोजना हुने भएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको ब्राण्ड बन्दीपुर हिलले आयोजना गर्न लागेको महोत्सवमा स्थानीय खानाका परिकार, सांस्कृतिक प्रस्तुति, साहसिक गतिविधि तथा परिवार लक्षित मनोरञ्जनका कार्यक्रम समावेश गरिने छ ।
आयोजक संस्थाका अनुसार महोत्सव बन्दीपुर केबलकारको लोअर स्टेसनमा दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरण असोज २८ देखि कात्तिक १ गतेसम्म र दोस्रो चरण कात्तिक ७ देखि १० गतेसम्म आयोजना गरिने छ । महोत्सवमा सहभागी हुन प्रवेश शुल्क लाग्ने छैन ।महोत्सवमा स्थानीय परिकारको स्वाद लिनुका साथै रमाइला खेल, सांस्कृतिक प्रस्तुति तथा बालबालिकाका लागि विशेष गतिविधिको अनुभव लिन सकिने छ । बालबालिका लक्षित ‘किड्स जोन’ पनि महोत्सवको आकर्षण रहने छ ।
बन्दीपुर केबलकार, जिपलाइन, स्काई साइकलिङलगायतका साहसिक गतिविधिमा रमाउन चाहने पर्यटकका लागि पनि विभिन्न अनुभव उपलब्ध हुने आयोजकले जनाएको छ ।
बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडका मार्केटिङ म्यानेजर विभु गौतमले बन्दीपुरहिललाई नेपालको एक प्रिमियम पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढिरहेको बताएका छन् । उनका अनुसार बन्दीपुर फेस्टले राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा परिवारलाई बन्दीपुरको संस्कृति, स्थानीय स्वाद र साहसिक गतिविधिसँग जोड्ने अवसर प्रदान गर्नेछ ।
कार्यक्रम संयोजक सुरज राईले महोत्सव सबैका लागि खुला रहने र प्रवेश निःशुल्क हुने जानकारी दिएका छन् । स्थानीय बासिन्दा तथा बाहिरबाट आउने पर्यटकलाई उत्सवमय वातावरणमा स्वागत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको उनले बताएका छन् ।
दशैँ–तिहार अभियानअन्तर्गत बन्दीपुरहिलले प्रमुख यात्रा मार्ग तथा विभिन्न पर्यटकीय साझेदारमार्फत प्रवर्द्धनात्मक कुपन वितरण गर्ने योजना पनि बनाएको छ। काठमाडौं, चितवन र पोखरालगायतका क्षेत्रमा समेत महोत्सवको प्रचारप्रसार गरिने आयोजकले जनाएको छ ।
प्राकृतिक सौन्दर्य, मनोरम हिमाली दृश्य, सांस्कृतिक अनुभव तथा आधुनिक पर्यटकीय सुविधाका लागि परिचित बन्दीपुरमा आयोजना हुने यो महोत्सवले चाडपर्वको समयमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
महोत्सवको विवरण
स्थान: बन्दीपुर केबलकारको लोअर स्टेसन, बन्दीपुर–४, तनहुँ
पहिलो चरण: असोज २८ देखि कात्तिक १ गतेसम्म
दोस्रो चरण: कात्तिक ७ देखि १० गतेसम्म
प्रवेश शुल्क: निःशुल्क












