काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले सोना श्रेष्ठलाई आफ्नो दक्षिण एसिया विभागको महानिर्देशकको रूपमा नियुक्त गरेको छ। अब उनले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीको रणनीति र सञ्चालनको विकास र कार्यान्वयनको नेतृत्व गर्नेछिन्।
“म दक्षिण एसियाको महानिर्देशक नियुक्त हुन पाउँदा सम्मानित छु,”श्रेष्ठले भनिन्, “समावेशी र दिगो विकासको समर्थनमा एडीबीको संलग्नतालाई अझ गहिरो बनाउन म यस क्षेत्रका हाम्रा विकासशील सदस्य देशहरूसँग नजिकबाट काम गर्न तत्पर छु।”
श्रेष्ठ एडीबीमा २३ वर्ष सहित २७ वर्षभन्दा बढी व्यावसायिक अनुभव भएकी एक अनुभवी हुन्। यो नियुक्ति हुनुभन्दा अघि, श्रेष्ठ विश्व बैंक अन्तर्गतकै कार्यक्रम सार्डको लागि उपमहानिर्देशक थिइन्। उनले एडीबीको स्वतन्त्र मूल्याङ्कन विभागको उपमहानिर्देशक, सहायक सचिव, दक्षिणपूर्व एशियाको लागि वित्तीय क्षेत्र र व्यापार डिभिजनमा निर्देशक र इन्डोनेसियाको लागि उपदेशकको रूपमा पनि काम गरिसकेकी छिन्। एडीबीमा पहिलेको व्यावसायिक भूमिकामा, उनले मध्य र पश्चिम एसिया, दक्षिण एसिया र दक्षिणपूर्व एसियामा व्यापक सञ्चालन अनुभव बटुलेकि छिन्।
नेपाली नागरिक, श्रेष्ठले संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि र स्नातकोत्तर डिग्री हासिल गरेकी छिन्। उनले म्यासाचुसेट्सको स्मिथ कलेजबाट अर्थशास्त्रमा स्नातक डिग्री पनि हासिल गरेकी छिन्।












