काठमाडौं । इरानी आक्रमणपछि इजरायलका विद्यालय बन्द गरिएको छ। योसँगै अब अनलाइन पढाइ सञ्चालन गरिने भएको छ।
इजरायली शिक्षामन्त्री योव किशले डिमोना र अरादमा इरानी आक्रमणपछि होम फ्रन्ट कमान्डका मेजर जनरलसँग परामर्श गरेको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले आइतबार र सोमबार सबै छुट हटाइने निर्णय गरेको छु र कुनै पनि भौतिक कक्षाहरुलाई अनुमति दिइने छैन।’
शिक्षामन्त्री किशका अनुसार यस अवधिमा विशेष शिक्षाका लागि छुटहरु पनि निलम्बन गरिनेछ र देशभरि अनलाइन कक्षाहरु सामान्य हुनेछ। उनले भने, ‘यस अवधिमा यलो एरियाहरु (बालबालिकाका लागि) पनि बन्द रहनेछन्।’
शिक्षामन्त्री किशले मंगलबारअघिको अवस्थाको पुनः मूल्यांकन गरेपछि मात्र थप निर्णय लिइनेछ। इजरायलका आपतकालीन सेवाहरुले दक्षिणी सहर अरादमा इरानी क्षेप्यास्त्र आक्रमणले उल्लेखनीय क्षति पुर्याएको बताएका छन्। ८८ जना घाइते भएका छन्। जसमध्ये धेरैको अवस्था गम्भीर छ। –एजेन्सी












