काठमाडौं । २२८ जनाको ज्यान जाने गरी सन् २००९ मा भएको विमान दुर्घटनामा एयर फ्रान्स र एयरबस दोषी ठहरिएका छन्।
पेरिसको एक अदालतले एयरलाइन्स र विमान निर्माता कम्पनी एयरबसलाई दुर्घटनाका लागि ‘पूर्ण रुपमा जिम्मेवार’ ठहराएको हो। ब्राजिलको रियो दि जेनेरियोबाट पेरिस जाँदै गरेको उडान एएफ–४४७ एट्लान्टिक महासागरमा दुर्घटनाग्रस्त भएको थियो।
आँधीबेहरीको समयमा यात्रुवाहक विमानले नियन्त्रण गुमायो र समुद्रमा खस्यो। जसमा सवार सबैको मृत्यु भयो।
विमानमा १२ जना चालक दलका सदस्य र २१६ जना यात्रु थिए। यसलाई फ्रान्सेली उड्डयन इतिहासको सबैभन्दा ठूलो दुर्घटना मानिन्छ।
अप्रिल २०२३ मा अदालतले दुवै कम्पनीलाई आरोपबाट मुक्त गरेको थियो। तर, बिहीबार आठ हप्ता लामो बहसपछि एयर फ्रान्स र एयरबस दुवै दोषी ठहराइएको हो।
दुवै कम्पनीले लगातार आरोपहरु अस्वीकार गर्दै अदालतको यो निर्णयविरुद्ध अपिल गर्ने जनाएका छन्। –एजेन्सी












