IME Life New

भविष्यका लागि आर्थिक सुरक्षाबारे आँखा खोलिदिने माध्यम हुन् अभिकर्ताः शान्ता केसी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानैबाट आत्मानिर्भर बन्छु भन्ने संकल्पले पनि मानिसलाई सफल बनाउँदो रहेछ। केही गर्छु भन्ने हुटहुटी र छोरी मान्छे भए पनि आफ्नै खुट्टामा उभिन्छु भन्ने आत्मा विश्वासले शान्ता केसी (बिष्ट) आज सफल महिलाको परिचय बनाउन योग्य भएकी छन्। छोरी मान्छे भनेको अरुकै भरमा बाँच्ने मानिस हुन् भन्ने संकुचित धारणालाई चिर्दै शान्ता अहिले बीमा क्षेत्रमा परिचित छिन्।

हाल शान्ता सिटिजन लाइफको बालाजु शाखा कार्यालयमा सिनियर एजेन्सी म्यानेजरका रुपमा कार्यरत छिन्। उनी बीमा गराउनभन्दा पनि बीमा बुझाउन फोकस गर्ने गरेको बताउँछिन्। उनले महिला समूह बनाएर पनि बीमा बुझाउने गरेकी छन्। ‘बीमा गराउन फोर्स गर्नुभन्दा पनि बीमा बुझाउन सक्यो भने मानिसहरु बीमाप्रति आफैँ प्रेरित हुन्छन्’, उनी भन्छिन्।

Esewa
Crest

सामाजिक काममा पनि उत्तिकै रुचि भएकी शान्ता विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छिन्। उनी टोल सुधार समिति महिला उपसमितिकी कोषध्यक्ष र टोल सुधार समाजकी सदस्य पनि हुन्।

२०३९ सालमा अर्घखाँचीको सन्धिखर्क–१ मा जन्मिएकी शान्ताको कर्मघर भने सुदूपश्चिमको बैतडी हो। हाल उनको बसोबास भने काठमाडौंको स्वयम्भुमा छ। उनले एसएलसीसम्मको अध्ययन पूरा गरेकी छन्। उनले आफ्नो पढाइ भने विवाहअघि नै अर्धखाँचीबाट पूरा गरेकी हुन्।

सामान्य परिवारमा जन्मिएकी शान्ताको बाल्यकाल भने साधारण रुपमै बित्यो। उनका बुवा इन्डियन आर्मीका रिडायर्ड हुन्। शान्ता सानो हुँदा बुवा–आमाले व्यापार गर्थे। कहिले होटल त कहिले किराना पसल अनि कहिले फलफूल तथा तरकारी पसल। आफ्नो बाल्यकालको हुर्काइमा बुवा–आमाले गरेको व्यापार देखेकी शान्ताले त्यही कुरा सिक्दै आइन्। सानो हुँदा पनि शान्ता बुवा–आमाको पछिपछि लागेर व्यापर गर्न हिँड्थिन्।

घरकी जेठी छोरी भएर पनि शान्ताले सबै जिम्मेवारी लिइन्। उनी बिहान–बेलुका पसलमा बुवा–आमालाई सहयोग गरेर स्कुल जाने गर्थिन्। ‘सानैबाट बुवा–आमाको मेहनत देखर हुर्केकी भएर होला दुःख र संघर्षलाई राम्रोसँग बुझने मौका पाएँ’, उनले भनिन्, ‘हामी सानो हुँदा आफूभन्दा ठूलाले जे कर्म गर्नुभयो, हामीले त्यही सिक्ने रहेछौँ। हामी चाहिँ सानैबाट व्यापारिक माहोलमा हुर्किएको भएर होला हामीले व्यापार नै गर्न जान्यौँ।’

शान्ता २०५९ सालमा विवाह बन्धनमा बाँधिन्। विवाहअघि पनि आफ्नो माइतीघरमा व्यापार गर्दै आएकी शान्तालाई विवाहपछि पनि त्यत्तिकै खाली बस्न मन लागेन। उनका श्रीमान नेपाल आर्मीमा कार्यरत छन्। विवाह गरेपछि श्रीमानको कमाइमा उनलाई बस्न मन थिएन। आफ्नै खुट्टा उभिनुपर्छ भन्ने उनमा थियो। त्यसैअनुरुप उनले गोंगबुमा किराना पसल खोलिन्। त्यसपछि उनको बालबच्चा भए। समय दिन गाह्रो भयो। त्यसपछि बालबच्चा पनि हुर्किंदै गए अनि फेरि उनले केही गर्नुपर्छ भन्ने सोचले गार्मेन्ट खोलिन्। त्यो व्यवसाय पनि करिब डेढ वर्ष चलाइन्। ‘व्यवसाय न हो सधैँ एकैनास नहुने, त्यो नचलेपछि बन्द भयो’, उनले भनिन्।

त्यसपछि शान्तालाई के गर्ने अनि कसो गर्ने भन्ने कुराले पिरोलिरहेको थियो। त्यसै समयमा उनलाई छिमेकी साथी जमुना कँडेलले फोन गरेर ‘तपाइँ के गर्दै हुनुहुन्छ ? त्यसै घर बसेर समय बिताइरहनुभएको छ भने त्यसरी नबस्नुस्, बीमा क्षेत्रमा आउनुस्। धेरै राम्रो हुन्छ। आफ्नो घरपरिवार बालबच्चालाई समय दिएर फुर्सदको समयमा गर्न सकिन्छ। आफूलाई खर्चका लागि गाह्रो हुँदैन। सामाजिक पेसा पनि हो। समाजसँग प्रत्यक्ष जोडिएर समाजमा रहेका मानिसलाई बीमाको दायरामा ल्याउन प्रयत्न गर्नु धर्मको काम पनि हो। अभिकर्ता बनेर काम गरौँ म सहयोग गर्छु’ भनिन्।

अनि छिमेकी साथी जमुनाले भनेको कुरामा शान्ताले स्वीकार गरिन्। के गर्ने होला भनेर साचेर बसेकी उनलाई ‘ढुंगा खोज्दा देऊता भेटेँ’झैँ भयो। त्यसपछि शान्ताले सिटिजन लाइफको बालाजु शाखामा गएर बीमाबारे अझै स्पष्ट बुझेर आइन् र २०८१ सालमा लाइसेन्स लिएर काम गर्न थालिन्।

बीमा अभिकर्ता लाइसेन्स लिएपछि शान्ताले सुरुको बीमा आफ्नै छोराको गराइन्। त्यसपछि आफन्तीलाई बीमा गर्न आग्रह गर्दै साथीभाइ र चिनेका सबैलाई बीमामा समेट्ने कोसिस गरिन्। छोटो समयमै उनले बीमामा राम्रो कार्यप्रदर्शन गरिन्। बीमा अभिकर्ता भएको एक महिनामै सिल्भर गोल्ड क्लब अचिभ गर्न सफल भइन् भने ४ महिनामा डायमन्ड क्लबको अवार्ड पाउन सफल बनिन्। यो उनका लागि धेरै ठूलो उपलब्धि थियो।

‘मैले बीमा क्षेत्रमा प्रवेश गरेको छोटो समयमै यो सफलता पाउनुमा कम्पनीको धेरै ठूलो हात छ’, शान्ताले भनिन्, ‘बीमाबारे खासै ज्ञान नभएकी मलाई बालाजु शाखाकी प्रमुख मनीषा तामाङ, सिनियर एजेन्सी म्यानेजर नरेन्द्र पुनलगायतले सहयोग र हौसला दिएर नबुझेको ठाउँमा बुझाएर मलाई सधैँ प्रेरित गरिरहनुभयो र म अगाडि बढिरहेँ। त्यसकै कारण आज म सफल भएँ। मलाई यो पेसामा घर परिवारले पनि सपोर्ट गर्नुभएको छ।’

अभिकर्ता पेसामा लागेपछि शान्ताको जीवनशैली मात्रै फेरिएन विचार र सोचाइसमेत फराकिलो भयो। यो पेसाले आफ्नो जीवनमा धेरै परिवर्तन ल्याएको शान्ताको भनाइ छ। ‘यो पेसा सहज पनि छ र उत्तिकै चुनौतीपूर्ण पनि। अभिकर्ता पेसा धेरै समय खर्चिन नपर्ने तर मनग्य आम्दानी गर्न सकिने पेसा हो’, उनले भनिन्, ‘अभिकर्ता सामाजिक पेसा पनि हो। पवित्र पेसा हो। अभिकर्ताले कसैको सुरक्षाका लागि काम गर्छ।’

शान्ताले बीतिमहरुबाट मिश्रित प्रतिक्रिया पाएको बताउँछिन्। ‘ग्राहकबाट राम्रो र नराम्रो दुवै प्रतिक्रिया पाएको छु। नराम्रो प्रतिक्रिया गर्ने ग्राहकलाई पनि मनोभावना बुझेर बीमा गराउनुपर्छ’, उनले भनिन्, ‘बीमाका धेरै फाइदा छन्। बीमाले जोखिम बहन गर्छ। आफू रहेसम्म आफूलाई र आफु नभएको अवस्थामा परिवारको भविष्य सुनिश्चत गर्छ भनेर बीमा बुझाउने गरेको छु। ग्राहकको पारिवारिक अवस्था बुझेर उनीहरुको चाहनाअनुसार बीमा गराउनुपर्छ। कम्पनीले व्यहोर्न नसक्ने भ्रमित कुरा भनेर बीमा गराउनु भनेको बीमा जगतकै लागि नराम्रो हो।’

एउटा सफल बीमा अभिकर्तामा धेरै गुण हुनुपर्ने शान्ताको तर्क छ। ‘अभिकर्ता पेसाप्रति लगनशील भएर लाग्नुपर्छ। एउटा बीमा गराउन पटक–पटक धाएर बीमा बुझाउनुपर्छ। सबैको सोच–विचार एउटै हुँदैन। अभिकर्तामा धैर्यता हुनुपर्छ’, उनले थपिन्, ‘मेहनती, इमान्दार, सहनशीलता र धैर्यताका साथ बीमा बुझाउन सक्नु नै अभिकर्ताको मुख्य गुण हो। यतिमात्रै नभएर कम्पनी र बीमा पोलिसीका बारेमा राम्रो ज्ञान हुनुका साथै ग्राहकलाई बुझाउने क्षमता पनि उत्तिकै हुनुपर्छ।’

आफूले कम्पनीबाट प्रशस्तै गाइड पाएकोमा शान्ताले खुसी छिन्। उनले भनिन्, ‘केही गर्छु, आत्मानिर्भर बन्छु भन्नेका लागि बीमा क्षेत्र धेरै राम्रो छ। अझ महिलाका लागि त यो पेसा सर्वोत्कृष्ट नै छ। घरपरिवारलाई समय दिएर आम्दानी गर्न सकिने भएकाले म यो पेसामा आकर्षित भएँ। भोलिका लागि के गर्ने होला ? बचत कसरी गर्ने होला ? भनेर सोच्न नसक्ने मान्छेका लागि आँखा खुलाई दिने माध्यम बनेकोमा म धेरै खुसी छु। आगामी दिनमा पनि अझै सशक्त भएर बीमा क्षेत्रमा अगाडि बढ्ने छु।’

शान्ताले कम्पनीले दिने हरेक लक्ष्य पूरा गर्ने गरेकी छन्। उनले हिरो अफ द मन्थ, हिरो अफ द डे, डायमण्ड क्लब र सिल्भर क्लबलगायतका अवार्ड हात पार्न सफल भइसकेकी छन्। अभिकर्ता पेसामा आबद्ध भएपछि शान्ता देशभित्रका धेरै रमणीय ठाउँ जस्तैः घान्द्रुक, पोखरा, बन्दीपुर, नगरकोटलगायतका धेरै ठाउँ घुम्ने मौका पाइन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS