काठमाडौं । हालसम्म विभिन्न सहकारी करिब ११ हजार बचतकर्ताले ७१ करोड रुपैयाँ फिर्ता पाएका छन्।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समितिको अद्यावधिक कार्यप्रगति तथा कार्ययोजना सार्वजनिक गर्दै हालसम्म करिब ११ हजार बचकर्तालाई ७१ करोड रुपैयाँ बचत फिर्ता गरिएको जानकारी गराएको हो। जसमा करिब २१ करोड रुपैयाँ नगद फिर्ता र ५० करोड रुपैयाँ बचत मिलान छन्।
यो कार्यालयको पछिल्लो कार्यसमिति गत वैशाख ९ गते निर्माण भएको थियो। नयाँ कार्यसमितिले काम सुरु गरेपश्चात आजसम्मको ९१ दिन र कार्यदिन ६७ पुगेको छ।
सम्बन्धित ऐन, नियम, कार्यविधि तथा सर्वोच्च अदालतको निर्देशानात्मक आदेशको समेत पूर्ण पालना गर्दै ५ लाख रुपैयाँ वा सोभन्दा कम बचत भएका बचतकर्तामध्ये १० हजार रुपैयाँ वा सोभन्दा कम रकम रहेका बचतकर्ताको हकमा (शिवशिखर बहुउद्देश्यीय सहकारीका करिब १ हजार ५०० बचतकर्ताबाहेक) अन्य सबै सहकारीका बचतकर्ताको रुजु हुन आएको बचत रकम प्रायः फिर्ता गरिसकिएको कार्यालयले जनाएको छ।
यसैगरी कानुनले प्राथमिकता प्रदान गरेका ज्येष्ठ नागरिक, एकल महिला तथा तोकिएका प्राणघातक रोगबाट पीडित बचतकर्ताहरुलाई औषधोपचार खर्चमा केही राहात मिलोस् भन्ने अभिप्रायले त्रैमासिक रुपमा परेका निवेदनका आधारमा जनही २५ हजार रुपैयाँ फिर्ता गर्ने कार्य सुरु गरिएको पनि कार्यालयले जनाएको छ। जसअन्तर्गत पहिलो दिन ४८ जनालाई कुल १२ लाख रुपैयाँ फिर्ता गरिएको छ।
बचत मिलान गर्दा अनिवार्य रुपमा १० प्रतिशत र २० प्रतिशत नगद दाखिला गर्नुपर्ने नीतिका आधारमा ऋणीहरुबाट कुल २२ करोड ८३ लाख रुपैयाँ दाखिला भएको कार्यालयले जानकारी दिएको छ।
बचत फिर्ता हुन बाँकी रहेका कुल ५९६ जना बचतकर्तामध्ये यही साउन मसान्तभित्र १ लाख रुपैयाँसम्म बचत भएका र कात्तिक मसान्तभित्र ५ लाख रुपैयाँसम्म बचत रहेका बचतकर्ताको रकम फिर्ता गर्न व्यवस्था मिलाइने कार्यालयको योजना छ।
समितिको अद्यावधिक कार्यप्रगती तथा भावी कार्ययोजना_rrqusxb











