काठमाडौं । दशैं विदापछि खुलेको नेप्सेमा शेयर कारोबार उत्साहजनक रुपमा भएको छ । बिहिवार नेप्से परिसूचक सामान्यतया स्थीर हुन पुग्यो । दशैं पछिको पहिलो दिन हिजो उछाल आएको शेयर बजारमा आज भने पौने दुई अंकले घट्न पुगेको छ । यद्यपि तीन अर्ब भन्दा बढिको शेयर कारोबार गरेर दोस्रो बजारमा उत्साह थपेको छ ।
बुधबार ४१.२० अंकले बढेको नेप्से बिहिवार १.७८ अंकले घटेर लगभग स्थीर हुन पुगेको छ । बिहिवार नेप्से परिसूच १६४५.६७ अंकमा पुगेको छ । बिहिवार १९२ वटा कम्पनीको एक करोड तीन लाख ६५ हजार ६०७ कित्ता शेयर तीन अर्ब तीन करोड ७६ लाख ९४ हजार ८४५ रुपैयाँको शेयर कारोबार भएको छ ।
दशैं बिदामा कार्यालय समेत धेरै नखुलेको बेला सर्वाधिक कारोबार भएपछि लगानीकर्ताहरु निकै उत्साहित देखिएका छन् । दोस्रो बजारमा शेयर मूल्य र कारोबार दुवैमा छलाङ् मार्ने क्रममा रहेकोले आगामी दिनमा शेयर बजार अझै विस्तार हुने विश्लेषण गरिएको छ ।