काठमाडौं । आर्थिक संकटमा फस्ने डरले कोरोना महामारी रोक्न लकडाउन खुकुलो बनाएको भारतमा आज एक जना मन्त्रीको कोरोनाबाट मृत्यु भएकोे छ । भारतीय सञ्चार माध्यमका अनुसार उत्तर प्रदेश राज्यकी मन्त्री कमला रानी बरुणको आज कोरोना भाइरसबाट मृत्यु भएको हो । गत साउनको पहिलो साता कोरोना पोजेटिभ देखिएकोमा उनको आइतबार विहान मृत्यु भएको हो ।
उत्तर प्रदेश सरकारकी प्रविधि तथा शिक्षा मन्त्री रहेकी बरुणको लखनउस्थित एसजीपीजीआई अस्पतालमा मृत्यु भएकी हो । कोरोना भाइरसबाट मन्त्रीकै मृत्यु भएपछि मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गर्दै सार्वजनिक कार्यक्रम नै रद्द गरेका छन् ।
भारतमा कोरोना भाइरसको संक्रमणको कारण मृत्यु हुनेको संख्या दिन दिनै बढिरहेको छ । दैनिक ५० हजारभन्दा बढि संक्रमित भेटिइरहेको भारतमा हालसम्म ३७ हजार ४१५ जना मानिसको मृत्यु भइसकेको छ । भारतमा हालसम्म कोरोना संक्रमितको संख्या १७ लाख ५४ हजार भन्दा बढि छन् ।