काठमाडौं । नेपालमै पहिलो पटक विद्युतीय बस शुरु गरेको सुन्दर यातायातले भोलि मङ्लबारदेखि काठमाडौँ उपत्यकामा आफ्ना सवारीसाधन सञ्चालन गर्ने भएको छ । एक विज्ञप्ति जारी गर्दै प्रा.लीले सरकारले थप ५० प्रतिशत भाडा लिने निर्णय गरेकामा त्यो समेत नलिई बस सञ्चालन गर्न लागिएको बताएको छ ।
यात्रुको स्वास्थ्यलाई ध्यानमा राखी स्यानिटाइजर, मास्क उपलब्ध गराउने र एक पटक परिक्रमा गरेपछि डिसइन्फेक्सन गरिने प्रालिले जनाएको छ । चालक र सहचालकलाई पञ्जा, स्यानिटाइजर, पीपीई, बुट र मास्कको व्यवस्था गरी बस सेवा सञ्चालन गर्ने पनि योजना छ ।
गत बुधबार बसेको मन्त्रिपरिषद्को वैठकले बिहीबारदेखि काठमाडौँ उपत्यकामा उपत्यका भित्रै र अरू जिल्लामा जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय गरेको थियो ।