काठमाडौं । राजधानीको ललितपुरस्थित पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । बिहिवार पाटन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइरहेका चितवन रत्ननगर स्थायी घर भई हाल ललितपुरको महालक्ष्मीस्थान नगरपालिकाको टिकाथली बस्ने ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले पाटन अस्पतालमा एक जनाको मृत्यु भएको पुष्टि गरेका छन् । यससँगै ललितपुरमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । यसअघि ललिलपुरकै बुंगमतीका ५७ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
पाँच महिनादेखि मृगौला रोगको उपचार गराइरहेका ति पुरुषमा यही असार ५ गते कोरोना पोजेटिभ पुुष्टि भएको हो । त्यसपछि पाटन अस्पताल ल्याइएको उनको आज मृत्यु भएको हो । उनको शव व्यवस्थापनको लागि नेपाली सेनाको टोली पुगिसकेको पाटन अस्पतालले जनाएको छ ।