काठमाडौं । सरकारले लकडाउन केही खुकुलो बनाउँदै गर्दा कोरोना संक्रमितहरु भने भेटिने क्रम ह्वात्तै बढेको छ । सोमबार विहानै कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज भेटिएकोसहित नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कन्ट्याक ट्रेसिङको क्रममा कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का १० जनामा कोरोनाको संक्रमण देखिएको हो । उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु रहेका छन् ।