काठमाडौं । मुगु जिल्लाको रारा राष्ट्रिय निकुञ्जभित्र रहेको भिलेज हेरिटेज एण्ड रिसोर्ट आगोलागीबाट क्षति भएको छ । रारा तालमा जानेहरु बास बस्ने सुविधा सहितको सो होटलमा शनिबार अपरान्ह २ बजेतिर लागेको आगोबाट रिसोर्टको दुईतले भवनसहित रिसोर्टमा रहेको सबै धनमाल नष्ट भएको जनाइएको छ । आगो किन लाग्यो भन्ने खुल्न सकेको छैन ।
सो आगो सोही स्थान नजिकै रहेको नेपाली सेनाको श्रीदल गुल्मका सेना र निकुन्जका वनरक्षकहरूको टोली घटनास्थलमा पुगेर नियन्त्रणमा लिएका थिए । भवनबाट सुरु भएको आगोलागी निकुञ्जको जंगलमा फैलिन नदिन अग्निरेखा हालेर वन जोगाउन सफल भएको जनाइएको छ ।
रारामा राजु कार्कीले सञ्चालन गरेको सो होटलमा आगो लागेको हो । रारा राष्ट्रिय निकुञ्जमा दुई वटा मात्रै होटल छन् । घट्ना स्थलको प्रहरी प्रतिवेदन बनेपछि मात्रै क्षति यकिन हुने जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । सो आगोलागीको बीमा दावी पर्ने नपर्ने एकिन हुन सकेको छैन ।