काठमाडौं । सरकारले सर्वसाधारणको घरमा जोडिएको इन्टरनेट सेवा शुल्क भुक्तानी नगरेकै कारण लाइन नकाट्न निर्देशन दिएको छ । कोरोना भाईरसबाट जोगाउन सिंगो देश लकडाउनमा रहेकाले लकडाउन अवधीभर इन्टरनेटको शुल्क भुक्तानी नभए पनि लाइन नकाट्न नेपाल दुर सञ्चार प्राधिकरणले निर्देशन दिएको हो ।
नेपाल दुरसञ्चार प्राधिकरणले आज यस्तो निर्देशन दिएको जनाएको छ । निर्देशनसँगै इन्टरनेट शुल्क भुक्तानी नगरेकै कारण सेवा अबरुद्ध नहुने विश्वास प्राधिकरणले लिएको जनाएको छ । केही इन्टरनेट सेवा प्रदायकहरुले शुल्क नपाएको भन्दै यसै साता भटाभट लाइन काट्न थालेपछि प्राधिकरणले यस्तो निर्देशन दिएको बताइन्छ ।
साथै प्राधिकरणले सबै इन्टरसेवा प्रदायकलाई अनलाईनको माध्यमबाट इन्टरनेट शुल्क भुक्तानीको व्यवस्था मिलाउन समेत भनेको छ । लकडाउन खुलेपछि इन्टरनेटको शुल्क भुक्तानी गर्ने सुविधा दिन समेत निर्देशन दिएको छ ।