काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले शुक्रबार एक सूचना जारी गर्दै बैंकले वैदेशिक रोजगारीमा रहेका र हालसालै रोजगारीबाट स्वदेश फर्किएकाहरुका लागि ५ वर्षे बचतपत्र निष्काशन गर्न लागेको जनाएको हो ।
उक्त बचतपत्र आगामी बैशाख १ गतेदेखि असार २१ गतेसम्म खुला हुनेछ भने बैशाख २७, जेठ २७ र आषढ २७ गते निष्काशन हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले निष्काशन गर्न लागेको बचतपत्रमा बैंकले वार्षिक १० प्रतिशतको आकर्षक ब्याजदर समेत प्रदान गर्ने तथा ब्याज भुक्तानी अर्धवार्षिक (६।६ महिनामा) हुने जनाइएको छ ।
उक्त ब्याज रकम भुक्तानीका लागि लगानीकर्ताले आफ्नो वा आफुले इच्छाएको व्यक्तिको खाता रहेको बैंकको नाम, ठेगाना र खाता नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने जनाएको छ ।
उक्त बचतपत्र लगानीका लागि इच्छुक वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुले निवेदन दिन सक्नेछन् । तर लगानीकर्ता स्वदेश फर्किएको ६ महिना नपुगेको हुनुपर्ने बैंकले जनाएको छ ।
इच्छुक लगानीकर्ताले बचतपत्रका लागि घटीमा १० हजार देखि बढिमा १० हजारले भाग गर्दा निःशेष भाग जानेगरि आह्वान गरिएको रकमसम्म खरीद दरखास्त दिन सक्नेछन् ।
व्यक्तिगत लगानीकर्ताको लागि
आवेदनका लागि इच्छुक लगानीकर्ताहरुले राहदानी, कार्यरत मुलुकको भिसा (भारत बाहेक), कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र (म्याद ननाघेको) को प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण स्वरुप विदेशी मुद्रा सटही गरेको भौचर पेश गर्नुपर्नेछ ।
पारिवारिक लगानीकर्ताको लागि
परिवारका सदस्यको नाममा खरिद गर्ने भए सो सदस्यको नागरिकताको प्रतिलिपी र नाता प्रमाणित कागजात र नाबालकको नाममा संरक्षक भइ खरिद गर्ने भए नावालकको जन्मदर्ता प्रमाणपत्र सहित दखास्त दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
आवेदन कहाँ बुझाउने ?
लगानीकर्ताले बचतपत्र खरिदका लागि ८ वाणिज्य बैंकहरु सिटिजन्स, नबिल, माच्छापुच्छे«, प्रभु, सनराइज, सिद्धार्थ, सानिमा र सेञ्चुरी कमर्सियल बैंक तथा तीन रेमिट कम्पनीहरु प्रभु मनि ट्रान्सफर र सेवा रेमिट र सिटी एक्सप्रेस मनि ट्रान्सफर कम्पनीहरुबाट आवेदन बुझाउन सक्ने समेत राष्ट्र बैंकले जनाएको छ ।
यसैगरि यी बिक्री एजेन्टका नेपाल बाहिर रहेका सम्पर्क व्यक्ति मार्फत पनि बचतपत्र खरीद गर्न सकिन्छ।।