काठमाडौं । खराब मौषमको कारण आज त्रिभुवन विमानस्थलमा विहानैदेखि उडान र अवतरण प्रभावित भएका छन् । एयर ट्राफिक कन्ट्रोलरले जथाभावी गरेका कारण स्थिति झनै भद्रगोल बनेको छ । यो समाचार तयार गर्दासम्म (मध्यान्ह १२ः०० बजे) सम्म नौ वटा जहाज अवतरणको लागि आकाशमै पालो कुरिरहेका छन् ।
चाईना साउथ एयरलाइन्सको जहाज एक घण्टादेखि बारामाथिको आकाशमा घुमिरहेको छ भने आन्तरिक उडानका चार जहाज पनि अवतरणको प्रतिक्षामा बारामाथिको आकाशमा फन्को मारिहेका छन् । यसैक्रममा आजै विहान ११ः०० बजेको समयमा विराटनगरबाट आएको बुद्ध एयरको जहाजलाई उच्च प्राथमिकता दिइएको छ ।
अन्य जहाजहरु आधाघण्टा भन्दा लामो समयदेखि अवतरणको लागि प्रतिक्षारत रहेकै अवस्थामा उडान नं बिएचए ७०२ को जहाजलाई सिधैं अवतरणको अनुमति दिइएको छ । चीन, कतारदेखि आएका जहाजका करिब एक हजार यात्रुहरुलाई आकाशमै होल्ड गरेर काठमाडौंस्थित विमानस्थलले एक बुद्ध एयरको जहाजलाई पहिलो प्राथमिकता दिई सिधैं अवतरणको लागि अनुमति दिएको हो ।
पालो मिचेर अवतरण गर्दा हवाई ट्राफिक व्यवस्थापन झनै भद्रगोल हुन पुगेको छ । नेपालको विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरले पक्षपूर्ण अवतरण गराउने गरेको आरोप पटक पटक लाग्दै आएको छ । यसअघि नेपाल एयरलाइन्सको जहाजलाई होल्ड गरेर भारतीय कम्पनीको जेटर एयरको जहाजलाई अवतरणको अनुमति दिएका कारण समेत विवाद परेको थियो ।