IME Life New

पुराना प्रतिबद्धतालाई नयाँ शब्दजालमा दोहोर्‍याउने ‘उधारो बाचा’ को शृङ्खला अझै रोकिएन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको हालैको भारत भ्रमण पछि जारी संयुक्त विज्ञप्ति र सन् २०२३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रमणका बेला भएका सहमतिहरूलाई सँगै राखेर हेर्दा नेपाल–भारत कूटनीतिको एउटा पुरानै, पट्यारलाग्दो रोग फेरि बल्झिएको देखिन्छ। सरकार फेरियो, अनुहार फेरियो, विज्ञप्तिको भाषा अलि चिटिक्क पारियो,तर नतिजा भने उही छ: ठोस कामको साटो उधारो बाचाको पुनरावृत्ति।

२०२३ मा जारी संयुक्त विज्ञप्ती र सोमबार जारी संयुक्त घोषणा पत्र, दुबै दस्तावेज दाँजेर हेर्दा झस्काउने कुरा के छ भने, तीन वर्षअघि तोकिएका स्पष्ट समयसीमाहरू यसपटकको विज्ञप्तिबाट चुपचाप गायव पारिएका छन्। ‘यति महिनाभित्र सकिने’ भन्ने आँट दुबै पक्षले गुमाएका छन् र त्यसको सट्टा कूटनीतिको सबैभन्दा सुरक्षित र अल्छी शब्द ‘शीघ्र’ को सहारा लिइएको छ।
पुरानै गाथा, उही कछुवा गति: के-के दोहोरिए?
दुबै पटकको विज्ञप्तिको तुलनात्मक अध्ययनले देखाउँछ कि हाम्रा ठूला परियोजनाहरू कागजमा मात्र दौडिरहेका छन्, जमिनमा एक इन्च सरेका छैनन्:
  • पञ्चेश्वर (समयसीमा नै गायब): दशक अघिदेखि भारतीय कब्जामा परेको सुदूरपश्चिमको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनका लागि सन् २०२३ मा ३ महिनाभित्र डीपीआर टुङ्ग्याउने र १ वर्षभित्र मोडालिटी बनाउने ठोस बाचा गरिएको थियो। तीन वर्ष बित्यो, डीपीआरको अत्तोपत्तो छैन। अहिले २०२६ मा आएर समयसीमा त कता हो कता, उल्टै सप्तकोशी र सुनकोशीको डीपीआर पनि त्यसैमा मिसाएर ‘शीघ्र अन्तिम रूप दिने’ भनिएको छ। पुरानो भारी बिसाउन नसक्दै नयाँ भारी थप्ने यो कुटनीति काइदा ।

    Esewa
    Crest
  • रक्सौल–काठमाडौं रेलमार्ग: सन् २०२३ मै भारतले यो रेलमार्गको ‘फाइनल लोकेसन सर्भे’ प्रतिवेदन नेपाललाई बुझाइसकेको बताएको थियो। अचम्मको कुरा, २०२६ को विज्ञप्तिमा फेरि त्यही सर्भेलाई ‘अन्तिम रूप दिइएको’ भन्दै उपलब्धिको सूचीमा राखिएको छ। एउटै प्राविधिक कामलाई तीन वर्षको फरकमा दुईपटक ‘ब्रेकिङ न्युज’ बनाइयो, तर पैसा कसले हाल्ने र रेल कहिले कुद्ने भन्ने प्रश्न अझै अस्पष्ट छ।

  • आईसीपी र पाइपलाइन: सन् २०२३ मा तामझामका साथ शिलान्यास र समझदारी भएका सुनौली–भैरहवा र दोधारा–चाँदनी एकीकृत भन्सार चाैकीहरू अझै ‘निर्माणाधीन’ को ट्याग झुन्ड्याएर बसेका छन्। मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण त सकियो, तर २०२३ मै सहमति भएको सिलिगुडी–झापा पाइपलाइन अझै ‘शीघ्र सुरुवात’ कै पर्खाइमा छ। अझ उदेकलाग्दो कुरा, चितवनमा बन्ने भनिएको पेट्रोलियम टर्मिनल त यसपटकको विज्ञप्तिबाटै सुटुक्क गायब भएको छ।

  • जलविद्युत् : १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारको पुरानो सम्झौतालाई यसपटक केवल औपचारिकताका लागि सम्झिइएको छ। बङ्गलादेशतर्फको त्रिपक्षीय व्यापार वा नयाँ लक्ष्यबारे विज्ञप्ति मौन छ। सन् २०२३ मा चर्चामा रहेका फुकोट कर्णाली र अरुण–तेस्रोको त नामै नलिई भारतीय लगानीका आयोजना पूरा गर्ने गोलमटोल आग्रह मात्र गरिएको छ।

जहाँ भारतको स्वार्थ, त्यहाँ रफ्तार
पछिल्लो तीन वर्षको प्रगतिलाई नियाल्दा एउटा निर्मम सत्य प्रस्ट देखिन्छ। जहाँ भारतको प्रत्यक्ष लगानी, निर्माण र नियन्त्रण छ, त्यहाँ काम फटाफट भएको छ। मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण, जोगबनी–विराटनगर र कुर्था–बिजलपुरा रेल सेवा तथा तल्लो अरुण (६६९ मेगावाट) को शिलान्यास यसका प्रमाण हुन्।
तर, जहाँ नेपालको समेत फाइदा जोडिएको छ, ती परियोजनाहरूमा इञ्च पनि प्रगती भएका छैनन् । पञ्चेश्वर, रक्सौल–काठमाडौं रेल र एकीकृत जाँच चाैकीहरूको हविगतले गिज्याइरहेको छ।
नयाँ प्याकेज र ‘ज्वाइन्ट भिजन’ को चमकधमक
निराशाकै बीच २०२६ को भ्रमणले केही ठूला र आकर्षक आश्वासनहरू भने पक्कै भित्र्याएको छ। भारतले नेपालका लागि १५ हजार करोड भारु (नेरु २ खर्ब ४० अर्ब) को विकास प्याकेज घोषणा गरेको छ । जसमा ऊर्जाका लागि ११ हजार ५०० करोड भारुको सहुलियतपूर्ण ऋण र विपद् पुनर्निर्माणका लागि ३ हजार ५०० करोड भारु अनुदान छ।
त्यसैगरी, गुजरातको कान्डला र भविष्यमा ओडिशाको पारादीप बन्दरगाहसम्मको पहुँच, भैरहवा–लखनऊ दुईतर्फी हवाई मार्ग, चितवनमा कृषी अाैद्योगिक क्षेत्र र आईआईटी क्याम्पस स्थापना जस्ता विषयले नयाँ आशा जगाएका छन्। सीमा समस्या सुल्झाउन परराष्ट्र सचिवहरूलाई दिइएको निर्देशन र ‘विकसित भारत र समुन्नत नेपाल’ को संयुक्त दृष्टिकोणपत्रलाई मुख्य उपलब्धिको रूपमा प्रचार गरिएको छ।
अन्त्यमा: कार्यान्वयनको परीक्षा कि अर्को विज्ञप्तिको तयारी?
सन् २०२३ मा तत्कालीन प्रधानमन्त्री दाहालले भारतीय परियोजना समयमै सक्न पूर्ण सहयोग गर्ने बाचा गरेका थिए। तर, भारतीय पक्षले पञ्चेश्वर बहुउद्देश्यीय अायोजना निर्माण गर्ने भन्दा पनि अल्झाएर भारतीय भूमीमा निरन्तर पानी र सिंचाइ उपभोग गरिरहने नियतले थाती राख्ने प्रवृत्ती पुनः दोहोर्याएको छ। पञ्चेश्वरको काम कहिले शुरू गर्ने भन्ने मिति नतोक्दा नेताहरूलाई कूटनीतिक दबाब त कम होला, तर यसले कर्मचारीतन्त्रको जवाफदेहितालाई शून्यमा झारिदिन्छ।
प्रधानमन्त्री शाहको भ्रमणले सम्बन्धमा नयाँ ऊर्जा र ठूलो आर्थिक प्याकेजको बाचा त ल्याएको छ। तर, विगतका सम्झौताहरूको ट्र्याक रेकर्ड हेर्दा मनमा एउटै संशय उठ्छ—के यो ‘संयुक्त प्रतिज्ञा’ ले साँच्चै जमिनमा इँटा थप्ला, कि अबको दुई तीन वर्षपछि अर्को प्रधानमन्त्री दिल्ली जाँदा यिनै बुँदाहरू उतार भएर फेरि ‘शीघ्र कार्यान्वयन गरिनेछ’ भन्ने विज्ञप्ति छापिएला?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS