IME Life New

कृषि यान्त्रीकरण प्रदर्शनीमा ओइरिए कृषक, १९ हजारले गरे अवलोकन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ को दोस्रो दिन शनिबार १९ हजार ३०५ जनाले अवलोकन गरेका छन् ।आधुनिक कृषि उपकरण तथा प्रविधिबारे जानकारी लिन काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट किसान तथा अवलोकनकर्ताहरू प्रदर्शनीस्थल पुगेका छन् ।

नामियाका अध्यक्ष कृष्ण शर्माले स्वदेशमै कृषि उपकरण उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । नेपाली उत्पादन तथा प्रविधिको प्रवर्द्धनसँगै विदेशी प्रविधि र उपकरणबारे किसानलाई जानकारी गराउने अवसरका रूपमा प्रदर्शनी महत्वपूर्ण रहेको उनले बताए । मेला संयोजक सुनिता न्हेमाफीले प्रदर्शनीमा किसान तथा अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको बताउनुभयो ।

Esewa
Crest

नामियाका महासचिव अर्जुनप्रसाद लुइँटेलले प्रदर्शनीले नेपाली किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताए । कृषि क्षेत्रमा श्रमिक अभावको समस्या बढ्दै गएको अवस्थामा यान्त्रीकरणले खेतीपातीलाई सहज बनाउनुका साथै उत्पादन लागत घटाउन सहयोग पुग्ने उनको भनाइ छ ।

त्यस्तै, नामियाका सचिव श्रीकृष्ण अधिकारीले प्रदर्शनीमा राखिएका कृषि उपकरण तथा प्रविधि किसानका लागि उपयोगी रहेको बताए । नेपालको भौगोलिक अवस्था र किसानको आवश्यकताअनुसारका उपकरणको प्रदर्शनीले कृषि यान्त्रीकरणको विस्तारमा सहयोग पुग्ने उनको धारणा छ ।

नामियाका केन्द्रीय सदस्य याम शर्माका अनुसार मेलामा काठमाडौं, भक्तपुर, ललितपुर, मुगु, बुटवल र चितवनलगायतका स्थानबाट किसानहरू सहभागी भएका छन् । प्रदर्शनीले किसानलाई आधुनिक कृषि उपकरण तथा प्रविधिबारे प्रत्यक्ष जानकारी लिन र आफ्नो आवश्यकताअनुसारका उपकरण छनोट गर्न अवसर प्रदान गरेको उनले बताए ।

शुक्रबारदेखि सुरु भएको तीनदिने प्रदर्शनीको पहिलो दिन ९ हजार ६६६ जनाले अवलोकन गरेका थिए । दोस्रो दिनको १९ हजार ३०५ सहित दुई दिनमा कुल २८ हजार ९७१ जनाले प्रदर्शनी अवलोकन गरेका छन् ।

मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपालसहित भारत, चीन तथा युरोपेली मुलुकका कृषि उपकरण उत्पादक, वितरक, व्यवसायी तथा विभिन्न कम्पनीहरूको सहभागिता रहेको छ । प्रदर्शनीमा साना तथा ठूला गरी १४४ वटा स्टल रहेका छन् भने ९२ जना प्रदर्शक सहभागी छन् ।

प्रदर्शनीमा आधुनिक कृषि मेसिनरी तथा उपकरण, हरितगृह, थोपा सिँचाइ, मल्चिङ, फगर, कृषि ड्रोन, कृत्रिम बौद्धिकता (एआई), बीउबिजन, कृषि प्रशोधन, अटोमेसन, पशुपन्छी तथा मत्स्यपालन, मौरीपालन, कफी खेती, मल तथा दानासम्बन्धी प्रविधि र उपकरण राखिएका छन् । त्यस्तै, ट्र्याक्टर, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रविधि र शीतभण्डारणसम्बन्धी प्रविधि पनि प्रदर्शनीका आकर्षण बनेका छन् ।

स्वदेशी कृषि उत्पादन र प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले यस वर्षको प्रदर्शनीमा नेपाली उत्पादकलाई विशेष प्राथमिकता दिइएको छ । ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अन्तर्गतका कम्पनीलाई स्टल भाडामा ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रसहित १७ वटा स्वदेशी उत्पादक कम्पनीलाई निःशुल्क स्टल उपलब्ध गराइएको आयोजकले जनाएको छ ।

त्यस्तै, नेपाल कृषि मेसिनरी व्यवसायी संघका सदस्य कम्पनीलाई ५० प्रतिशत छुट दिइएको छ । प्रदर्शनीले किसानलाई आधुनिक कृषि उपकरण तथा प्रविधिबारे प्रत्यक्ष जानकारी लिन, विभिन्न कम्पनीका उत्पादनको तुलना गर्न र आफ्नो खेती प्रणालीअनुसार उपयुक्त प्रविधि छनोट गर्न अवसर प्रदान गरेको छ । विशेषगरी नेपालको भौगोलिक अवस्था र साना किसानको आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएका कृषि उपकरण तथा प्रविधि प्रदर्शनीमा राखिएका छन् ।

कृषि यान्त्रीकरणलाई विस्तार गर्दै उत्पादन लागत घटाउने, श्रम अभावको समस्या कम गर्ने र कृषि उपजको उत्पादन तथा उत्पादकत्व बढाउने लक्ष्य प्रदर्शनीले लिएको छ । साथै, स्वदेशमै कृषि उपकरण उत्पादन गर्ने उद्योगको प्रवर्द्धन, प्रविधि हस्तान्तरण तथा कृषि व्यवसायको व्यावसायिक विकासमा समेत प्रदर्शनीले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रदर्शनीका तीनै दिन नेपाल कृषि इन्जिनियर्स सोसाइटीसँगको सहकार्यमा विभिन्न ज्ञान आदानप्रदान, व्यावसायिक सहजीकरण, प्रविधि विकास र नीतिगत संवादसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेका छन् ।

पहिलो दिन देश तथा विदेशका छ जना विषयविज्ञले कृषि यान्त्रीकरणसम्बन्धी प्रस्तुति दिएका थिए । दोस्रो दिन कृषि मेसिनरी तथा प्रविधिको खरिद र प्रयोगसम्बन्धी परामर्श, खाद्यवस्तु प्रशोधन तथा निर्यातसम्बन्धी ज्ञान आदानप्रदान र नेपालको भूगोलअनुकूल कृषि यान्त्रीकरण नीतिबारे छलफल गर्ने कार्यक्रम रहेको छ । तेस्रो दिन कृषि यान्त्रीकरण, युवा केन्द्रित कृषि प्रविधि, रूपान्तरण तथा नवप्रवर्तनका विषयमा प्रस्तुति र छलफल गरिनेछ ।

अवलोकनकर्तालाई आकर्षित गर्न तीनै दिन लक्की ड्रमार्फत पुरस्कार वितरणको व्यवस्था गरिएको छ । प्रत्येक दिन ५० जनालाई पुरस्कार प्रदान गरिनेछ भने अन्तिम दिन बम्पर पुरस्कारका रूपमा एक जनालाई मिनी टिलर उपलब्ध गराइने आयोजकले जनाएको छ । प्रदर्शनीको मुख्य आयोजक कृषि विभाग, राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघ रहेका छन् ।

बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपाल सहआयोजक रहेका छन् ।
‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनी तीन दिनसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । आयोजकले तीन दिनमा ५० हजारभन्दा बढी दर्शकले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS