काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय सुन–चाँदीको भाउमा व्यापक गिरावट आएको छ। जसका कारण नेपाली बजारमा पनि सुन–चाँदीको भाउ घटिरहेको छ।
पछिल्लो एक साताको तथ्यांक हेर्ने हो भने पनि नेपाली बजारमा सुनको भाउ तोलामै २६ हजार ३०० रुपैयाँले घटेको छ। गत शुक्रबार सुन तोलाको २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। आज शुक्रबार सुन तोलाको २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबारको तुलना आज सुनको भाउमा तोलामा ९.६८ प्रतिशतले घटेको छ।
यसैगरी गत साता शुक्रबार चाँदी तोलाको ३ हजार ७०० रुपैयाँ कारोबार भएको थियो। आज चाँदी तोलाको ३ हजार ११० रुपैयाँ कायम भएको छ। गत शुक्रबारको तुलनामा चाँदीको भाउ ५९० रुपैयाँ अर्थात १५.९५ प्रतिशतले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यका अनुसार सुन–चाँदीको भाउमा घट्नुमा थुप्रै कारण छन्। ‘त्यसमध्ये एउटा अमेरिकाको फेडरल रिजर्भले नीतिगत बढाउँदै लैजाने तयारी गरिरहेको छ। फेडको नीति नै अमेरिकी डलरलाई मजबुत बनिरहेको छ’, उनले भने, ‘यसले पनि सुनचाँदीको भाउ गिरावट आइरहेको छ।’
अर्कोतर्फ विभिन्न देशबीच युद्ध चलिरहेको बेला केही देशले आफ्नो सुन भण्डार घटाइरहेका अर्थात सुन बेचिरहेको शाक्यले बताए। यो पनि सुनको भाउ घट्नुको अर्को कारण हुन सक्ने उनको भनाइ छ।
शाक्यका अनुसार पछिल्लो समयमा अन्तर्राष्ट्रिय कमोडिटिज एक्सचेन्जमा सुनको बिक्री चाप बढेको छ। ‘अन्तर्राष्ट्रिय बजारमा १० प्रतिशत मार्जिनमा सुन किन्न पाइन्छ’, उनले भने, ‘त्यही खरिद गरेको सुन भाउ घट्न थालेपछि बेच्न थालिएको छ। कारोबार राफसाफ गर्न पनि लगानीकर्ताले सुन बेचिरहका छन्। यसले सुनको भाउ घटाउन मद्दत गरेको छ।’
अन्तर्राष्ट्रिय गतिविधिले अब सुनको भाउ के होला भन्ने निर्धारण गर्ने देखिन्छ।











